हिलोमाथि रातो कार्पेटको जात्रा : दुईतिहाईको ओली सरकारको समृद्धि यात्रा

त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसका अवसरमा सहभागी भएका प्रधानमन्त्री केपी ओलीले हिलोमाथि ओच्छ्याइएको रेड कार्पेटमा हिँडेर उपकुलपति कार्यालयको नवनिर्मित भवन र सरस्वतीको मन्दिर उद्घाटन गरे ।

त्रिविको वार्षिक दिवस बैठकले ५७ औँ ग्रेस लिस्ट पारित गरेको छ । गत वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी कार्यक्रममा गरी ७० हजार ७७ जनशक्ति उत्पादन भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा एकै वर्षमा ७० हजार जनशक्ति उत्पादन गरेका छन् । त्रिविका त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवसको अवसरमा आयोजित त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ग्रेस लिस्ट पारित गरेको हो ।

त्रिविका पाँचवटा अध्ययन संस्थानबाट ११ हजार ९ सय १२ जना र चारवटा संकायबाट ५८ हजार १ सय ६५ विद्यार्थी उत्तीर्ण भएका छन् । व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट १ हजार ६ सय ६६ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानबाट २ हजार ९ सय ७२, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ७ सय १९, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानबाट ५ सय ५ र वन विज्ञान अध्ययन संस्थानबाट २ सय ६४ उत्तीर्ण भएका हुन् । १ असार ०७५ देखि ०७६ जेठ मसान्तसम्म विभिन्न तहमा उत्तीर्ण भई ट्रान्सक्रिप्ट पाएका विद्यार्थीको ग्रेस लिस्ट पारित भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।