प्रहरी र विप्लव नेकपाका कार्यकर्ताको भोजपुरमा दोहोरो भिडन्त, दुई जनाको मृत्यु

सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीको दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विप्लव समूहका एक कार्यकर्ता र एक प्रहरी जवान रहेका छन् । बुधबार बिहान ८ः३० मा भोजपुर बजारको हटिया लाइन क्षेत्रमा बिप्लवका कार्यकर्ता खोज्दै हिडेका प्रहरी र बिप्लव कार्यकर्ता बिच दोहोरो भिडन्त भएको स्थानियले बताएका छन् । प्रशासनले भने ड्युटीमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको जनाएको छ ।

महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मृत्यु हुनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दोहोरो भिडन्तमा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।

प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै सक्रिय सुरक्षाको रणनिती अंगीकार गरेका उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।

मारिने राई बिप्लव समूहका ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ ।
प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।
प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।