चितवन आएका नँया एसपी मल्ल सुरक्षामा चुक्दै

 मेयरको निर्देशन पछि मात्रै समातिए नेकपाका नेता ।

चितवन , १६ जेठ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको सोर्सफोर्स र दबाबमा चितवनको हाकिम भएर आएका प्रहरी प्रमुख दान बहादुर मल्ल चितवन हाजिर भएकै दिन नेकपाका कार्यकर्ता र स्थानीयले धुर्मुस-सुन्तली फाउन्डेसनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला डोजर लगाएर भत्काइदिएका छन् ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले धुर्मस – सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की दिदै झन्डै एक किलोमिटर जति बार भत्काएका हुन् । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

भएको के हो
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको थियो । चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफल गरेका थिए । सो छलफलमा रंगशालाको पूरा डीपीआर आएपछि कति सडक छाड्ने भन्ने बारेमा निक्यौल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए । स्थानीयका लागी मात्रै होइन रंगशालाका लागि समेत सडक चाहिने भएकोले करीव १० मिटर जग्गा सडकका लागि छाड्ने विश्वास धुर्मसले दिलाएका थिए । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरुको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘उहाँहरुले अहिले सामान सुरक्षाका लागि बार लगाउनुस् भन्नुभयो र लगाएँ तर, एकाएक आएर डोजर लगाउनुभयो’ धुर्मसले भने ।

त्यहाँका केही स्थानीय ठेकेदारले आफूहरुसँग निर्माण सामाग्री लिनुपर्ने, केही प्रतिशत स्थानीयलाई कमिसन दिनुपर्ने माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन् । तिनै धम्की दिने व्यक्तिहरुले नै डोजर लगाएर बार भत्काएको नाम नबताउने सर्तमा फाउण्डेसनका एक कर्मचारीले बताए ।

आँखा अगाडि क्षतिबिक्षत बनायो :धुर्मुस ।
यता, हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । धुर्मुसका अनुसार आफ्नै आँगन अगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीयहरु उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीयहरु बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए ।

“निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।

रंगशालाको बार भत्काउनेलाई कारवाही नभए चुप लागेर बस्दैनौं – तरुण दल चितवन ।
उता, नेपाल तरुण दल चितवनले भरतपुर महानगर १५ स्थित निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउनेलाई कडा कारवाहीको माग गरेको छ । अध्यक्ष राजन ताम्राकार र सचिव प्रल्हाद उप्रेतीद्धारा आज जारी एक विज्ञप्तीमा घटनामा संलग्न दोषीलाई राजनीतिक आडमा संरक्षण नगर्न चेतावनी दिएको छ । यदी दोषीलाई विभिन्न बहानामा उन्मुक्ती दिए तरुण दल चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ ।

मेयर र सिडियोको अनुगमन ।
यसैबीच, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनाले आफ्नु गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले पनि राष्ट्रिय गौरवको आयोजनाका लागि सुरक्षाको कमी नहुन नदिइने बताए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने बताए ।

मेयर दाहालको फोनपछि एसपी मल्ल थुरुरु ।
बार भत्काइएको स्थानको अवलोकनपछि भरतपुर महानगरका मेयर रेणु दाहालले दोषीलाई कारबाही गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएकी छिन् ।
मेयर दाहालले आफ्नै मतदाताहरूलाई पक्राउ गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएपछि घट्नामा संलग्न रहेको आरोपमा मुख्य योजनाकार
प्रकाश कंडेल सहित १६ जनालाई पक्राउ गर्न एसपी मल्ल बाध्य भएका हुन् । यस अघि मल्ल नेकपाका नेता कंडेललाई पक्राउ गर्ने पक्षमा थिएनन् । मेयर दाहालको निर्देशन पछि थुरुरु भएका एसपी मल्लले घट्नाका मुख्य योजनाकारमा कार्वाही गर्छन् या उन्मुक्ति त्यस्को फ्लो हुने छ । लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बसेका चितवन प्रहरीका प्रमुख एसपी मल्ल हिजो मात्रै प्रहरी कमान्डर रूपमा चितवन आइपुगका हुन् ।

तोडफोडका योजनाकार कंडेल को हुन् ?
तोडफोडका योजनाकार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको स्थानीयले बताए । ‘रेणु दाहाललाई मेयर बनाउने मैं हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीयबासी बताउँछन् ।

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित ।
उता, चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित भएको छ । धुर्मुस–सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यक्रम स्थगित गरेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एक विज्ञप्ती जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ स्( ‘कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भिर परिस्थितिको सृजना भएको हुँदा सो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि काम कारवाही स्थगित गरिएको छ ।’ फाउण्डेशनले यसबाट पर्न गएको प्रतिकूलताप्रति सम्बन्धि सबैसंँग क्षमा मागेको छ । रंगशाला निर्माणको काम सुरु गरे देखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने, त्रासहरु भईरहँदा पनि चितवनबासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाएको फाउण्डेशनले जनाएको छ । तर, सुरक्षा नै नभएपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशन को भनाई छ ।