गोन्द्राङ घटनाका आक्रमणकारीलाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौँ, १४ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ड्युटीमा रहेकी सुरक्षाकर्मी कल्पना खड्कामाथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलको कार्यालयले चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङस्थित सडक बोर्डको कर सङ्कलन केन्द्र (ढाट)मा ड्युटीमा कार्यरत खड्कामाथि गरेको अमानवीय कार्य भएको भन्दै घोर विरोध गरेको जनाएको छ। प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत उपचाररत सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। -रासस