विप्लव नेकपाप्रति सरकार झन आक्रमक बन्दै

जेष्ठ १४, काठमाडौं । आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रमक देखिएको छ ।
आइतबार नेकपाका नेता कार्यकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्ध रुपमा विस्फोटको घटना पछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइतबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा रहन निर्देशन दिएको छ ।
बम बिस्फोटको घटनापछि चन्द नेतृत्वको दलको नियत नै वातावरणलाई भयभीत बनाउने र जनतालाई तर्साउने रहेको भन्दै सरकारले आफ्ना सुरक्षा अंगहरुलाई हाइ अलर्टमा रहन भनेको हो । गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायका प्रमुखहरुलाई सो निर्देशन दिएका हुन् ।
प्रहरीले समेत नयाँ रणनीतिसहित संकास्पद स्थानलाई उच्च निगरानीमा राखिएको जनाएको छ । यसैगरी राजधानी भित्रने नाकामा समेत प्रहरीले चेकजाँचलाई कडा बनाएको बताएको छ भने नाकाहरुमा तालिम प्राप्त कुकुरसमेत राखेको छ । यस्तै, सूचना संकलनका लागि सादा पोसाकमा समेत भन्दै प्रहरीले विशेष टोली खटाएको छ ।

सूचना लिन सादा पोसाकमा प्रहरी

नाकामा कुकुरसहितको चेक प्वाइन्ट
नेता कार्यकर्ता उच्च निगरानीमा

यसैगरी राजधानीभित्रका प्रमुख स्थान र सडकमा समेत प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ भने राजधानीको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन भन्दै प्रहरीले थप जनशक्ति परिचालन गरिएको बताएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले हिंसात्मक र ध्वंसात्मक गतिविधि रोक्न प्रहरीले नयाँ रणनीतिसहित अघि बढेको बताए । उनले त्यस्ता गतिविधिमा संलग्नको उच्च निगरानीका लागि थप जनशक्ति समेत खटाइएको जनाए । ‘हिंसात्मक र ध्वंसात्मक गतिविधि रोक्न प्रहरी नयाँ रणनीतिसहित अघि बढिसकेको छ, हिंसाको बाटो रोज्नेलाई छुट छैन, हुन्न,’ डीआईजी पोखरेलले राजधानीसँग भने ।
काठमाडौंमा आइतबार भएको शृंखलावद्ध बम विस्फोटमा मारिने चार जनामध्ये तीन जना विप्लव समूहका सैन्य कमाण्डर भएको खुलेको छ ।सोमबार विप्लवले विज्ञप्ती मार्फत बम बिस्फोटमा मारिएकामध्ये तीन जना आफ्ना सैन्य कमाण्डर भएको उल्लेख गरेका छनु । विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको नेकपा महासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएको छ । शाही भने विद्यार्थी नेता हुन् ।

विज्ञप्तीमा आइतबारको घटना के कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउने समेत बताइएको छ । तर मुख्य दोषी सरकारको फासीवादी दमन भएको लेखिएको छ । भोजपुरमा आफ्ना नेताको गोली हानी हत्या गरिएपछि सरकारको प्रतिरोधमा आफ्नो संगठन उत्रिनु परेको विज्ञप्तीमा भनिएको छ ।
प्रहरीले भने बिस्फोटमा परी सुकेधारामा कालिकोटका विभुराम भन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको बताएको छ । यस्तै घट्टेकुलो बिस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको भनेको छ । राजधानीबाट ।