क्रिकेट रंगशाला निर्माणस्थलको कुलमान घिसिङद्वारा निरीक्षण


चितवन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
धुर्मस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर महानगरपालिका वडा नम्बर १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतीको बारेमा जानकारी लिएका हुन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराएका थिए । अध्यक्ष कट्टेलले डीपीआर निर्माण हुन अगाडिका प्रारम्भिक चरणका कामहरु सबै तीव्र गतिमा अघि बढाइएको जानकारी दिए ।
रंगशाला निर्माणस्थलको कम्पाउण्ड घर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआरलगायतका कामहरु अघि बढिरहेको कट्टेलले बताए ।
रंगशालास्थल निरीक्षणपछि कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सबै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । घिसिङले रंगशाला निर्माणस्थलको छनौट उपयुक्त रहेको भन्दै तोकिएकै समयभित्र रंगशाला निर्माणको काम सकेर जनतालाई खुसीको सञ्चार गराउन निर्माण पक्षलाई आग्रह गरे । घिसिङले फाउण्डेशनका अध्यक्ष कट्टेलसँग रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सबस्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृदयका साथ सहयोग गर्ने वचनवद्धता गरेका छन् ।
रंगशालाको पुरा डीपीआर आएपछि काम गर्न अझै सजिलो हुने भन्दै कार्यकारी प्रमुख घिसिङले नआत्तिन कट्टेललाई ढाडस दिए । रामपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको सो रंगशालामा पिच निर्माणका लागि काम सुरु गरिएको छ । पिच निर्माणका लागि खाल्डो खनेर माटो पेल्ने काम भइरहेको कट्टेलले बताए ।