महिला हिंसा न्यूनीकरणका लागि मार्सल आर्टस् तालिम

चितवन/महिला हिंसा तथा बलात्कारको न्यूनीकरण गराउने उद्धेश्यले प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा चितवनमा एकहप्ते आत्मरक्षा तालिम सुरु गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिकाको ऐतिहासिक क्षेत्र उपरदाङगढी, कापे, शक्तिखोरमा सञ्चालन गरिएको तालिमको आयोजना भरतपुरको अल मार्सल आर्टस् एकेडेमीले गरेको हो । जेठ १७ गतेसम्म सञ्चालन हुने सो मार्सल आर्टस् तालिमको उद्घाटन प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले गरेका हुन् । तालिमको उद्घाटनका क्रममा दाहालले प्रदेश ३ सरकारले योजना बनाएर खेलकुदमा लगानी गर्ने बताए ।
प्रदेश सरकारले खेलकुदको विकासका लागि विभिन्न अवधारणा अघि सारेको उल्लेख गर्दै दाहालले ३ नम्बर प्रदेशको प्रत्येक जिल्लामा रंगशाला, हरेक निर्वाचन क्षेत्रमा कबर्ड हल तथा स्थानीय तहमा व्यवस्थित खेलमैदानको अवधारण अगाडि सारेको बताए । पछिल्लो समय महिला हिंसाका घटनाहरुमा बृद्धि भएको उल्लेख गर्दै दाहालले यसको नियन्त्रणका लागि तीन तहकै सरकारले योजना बनाउनुपर्ने बताए । प्रदेश सरकारले ल्याएको आत्मरक्षाका लागि मार्सल आर्टस् तालिमले किशोरी तथा महिलाहरु लाभान्वित हुने उल्लेख गर्दै दाहालले अब खेलाडीहरुको भविष्य समेत उज्ज्वल हुने बताए ।
तालिम उद्घाटनका क्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ प्रशिक्षण गणेशलाल कक्षपतीले हरेक नागरिकका लागि मार्सल आर्टस् तालिम आवश्यक रहेको बताए । किशोरीहरुको आत्मरक्षाका लागि मात्रै नभएर व्यक्तिको स्वास्थ्य मजबुत बनाउनका लागि समेत तालिम आवश्यक भएको बताए । आफूहरुले प्रदान गर्ने ६ दिने तालिममा सिकेका ज्ञानलाई गलत तरिकाले प्रयोग गर्न नहुने उल्लेख र्दै कक्षपतीले आत्मरक्षाका लागि मात्रै प्रयोग गर्नुपर्ने बताए ।
सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ की सदस्य संगीता भट्टराईले प्रदेश सरकारको सहयोगमा सञ्चालित तालिमले महिला हिंसा रोक्नका लागि मद्दत पुग्ने बताइन् । यो तालिमले महिलाहरुलाई शारीरिक हिसाबले मात्रै नभइ मानसिक हिसाबले समेत बलियो बनाउने भट्टराईको भनाइ छ । हिंसामुक्त समाज निर्माणका लागि खेलाडीहरुको भूमिका अहम् हुने भन्दै खेलकुदको विकासका लागि सबै जुट्नुपर्ने भट्टराईले बताइन् ।
सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले तालिमले खेलकुदको विकासँगै अपराधमुक्त समाज निर्माणमा सघाउ पु¥याउने बताए । तालिममा सहभागीहरुलाई नेपाल राष्ट्रिय मुवाथाई संघका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ प्रशिक्षक गणेशलाल कक्षपती, अल मार्सल आर्टस् एकेडेकीका अध्यक्ष एवम् प्रशिक्षक उत्तम गुरुङ, खेलाडी ईश्वर सापकोटालगायतले प्रशिक्षण दिनेछन् । महिलाहरुलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउने उद्धेश्यले आत्मरक्षाको लागि मार्सल आर्टस् तालिम प्रदान गरिएको प्रशिक्षक उत्तम गुरुङले बताए ।