Breaking News

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीप लामिछाने


चितवन, ०४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले चितवनमा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको अवलोकन गरेका छन् ।
भारतीय चर्चित लिग आइपीएल खेलेर गृह जिल्ला चितवन आएका आएका लामिछाने शनिबार दिउँसो रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका वडा नः १५ रामपुरमा पुगेर निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिए । राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्का, पूर्व क्रिकेट खेलाडी अनिल अधिकारी, नेपाली क्रिकेट टोलीका टिम म्यानेजर रमन सिवाकोटीसहित मैदान पुगेका लामिछाने केहीबेर क्युरेटर कोमलबहादुर पाण्डेसँग गफिए । सन्दीपलाई देख्दा पाण्डे पनि निकै खुसी भए । सन्दीपले क्यूरेटर पाण्डेलाई अन्तर्राष्ट्रिय क्रिकेटमा आफूले पाएका अनुभवहरुका बारेमा सुनाए ।
७८ वर्षीय पाण्डेले सन्दीपलाई देशको नाम राख्न सकेको बधाई दिए । नेपालमा नै पहिलोपटक बनाइएको रोलरसमेत चलाएर सन्दीपले रंगशाला बनाउन सबै होस्टेमा हैंसे गर्नुपर्ने बताए । तीन वर्षभित्र रंगशाला बनाउन चुनौती रहेको भन्दैं राष्ट्रिय खेलाडी सन्दीपले सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । यसअघि, रंगशाला निर्माणका लागि सहयोग गर्न गठित जिल्लास्तरीय खेलकुद समिति घोषणा कार्यक्रमा विशिष्ट अतिथि बनेका सन्दीपले आफूले क्रिकेट सिकेको ठाउँमा नै रंगशाला निर्माण हुन लागेको उल्लेख गर्दै रंगशाला क्रिकेटका लागि मात्रै नभएर सबै खालका खेलको लागि उपयुक्त हुने बताए ।
नेपालमा क्रिकेट खेल्नका लागि उपयुक्त मैदान नभएको अवस्थामा चितवनमा बन्दै गरेको रंगशालालाई सबैले सहयोग हुनुपर्ने क्रिकेट खेलाडी सन्दीपको भनाइ छ । लामिछानेको चितवन सौराहामा घर छ । उनका वुवा, आमा र भाउजु यही नै बस्छन् । लामिछाने भोलि आइतबार काठमाडौं फर्कने कार्यक्रम छ ।

sahid diwas