भारतीयद्वारा ठोरीका नेपाली कुटिए, स्थिति तनावग्रस्त

वीरगञ्ज, ३ जेठ : पर्साको पश्चिमी क्षेत्रस्थित ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । स्थानिय ठोरीबासीलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रमा स्थिति तनावग्रस्त भएको छ ।

इलाका प्रहरी कार्यालय ठोरी निकट श्रोतले दिएको घटना अनुसार, केही भारतीय बिहीबार ठोरीमा रहेको झोलुङ्गे पुल हेर्न आउँदा बाटो बिराउँदा त्यहाँ रहेका भिखना ठोरीकै ३३ वर्षीय रवि साहलाई सोध्दा उनले गलत बाटो देखाएका थिए, तर ठोरीकै एक वृद्ध महिलाले सही तथा नजिकको बाटो देखाएको विषयलाई लिएर हाटबजार गर्न भारतको भिखना ठोरी बजार गएको मौका छोपी ठोरीबासीलाई कुटपिट गर्दा करीब पाँच नेपाली घाइते भएका थिए ।

किनमेल गर्न गएका नेपालीलाई भारतीयले महिला पुरुष जसलाई देख्यो त्यसलाई नै बाँसको चिर्पटले कुटपिट गरेको बझिएको छ ।
सो घटनाको जानकारी हुने बित्तिकै इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्त, सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट ठोरीका सशस्त्र प्रहरी निरीक्षक अमरबहादुर विकसहितका टोली भिखनाठोरी गई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा टिम्बरलाइनबाट नेपालीको उद्धार गरेका थिए ।
भारतीय पक्षको कुटाइबाट ठोरी गाउँपालिका–२ का विष्णु विष्ट, सुन्दरबस्तीका ५३ वर्षीय कमल खवास, इच्छा नगरकी २१ वर्षीया सदीक्षा पन्त, १२ वर्षीया सुष्मा पन्तलगायत पाँच घाइते भएका छन् । भारतीयको कुटाइबाट टाउकोमा चोट लागि घाइते भएका विष्णु विष्टलाई थप उपचारका लागि नारायणगढतर्फ लगिएको प्रहरीले जनाएको छ ।
सो घटनालाई लिएर कुटपिट गर्ने समूहमाथि आवश्यक कारवाहीको माग गर्दै पीडितहरुले भारत भिखना ठोरीस्थित सुभद्रा थानामा उजुरी दिएपछि भारतीय सीमा सुरक्षा बल (एसएसवी), सुभद्रा थानाका अधिकारी र नेपाली सुरक्षाकर्मीसँग घटनाबारे छलफल गरिरहेको बताइएको छ । सो घटनालाई लिएर नेपाल–भारतबीचका जनताबीच कुनै अप्रिय घटना नहोस् भनेर दुवै देशका सुरक्षा अधिकारी सचेत रहेका छन् ।