रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले जस्तै अशेष दवाडीले पनि खुत्रेकमा जम्मा गरेको १० हजार रुपैयाँ रंगशालाका लागि दिए । बालबालिकाले विद्यालयमा आएका आफ्ना अभिभावकसँग पैसा माग्दै धुर्मसको रंगशाला निर्माण अभियानमा रकम सहयोग गरे । कतिपय विद्यार्थीले खाजा खर्चको रकम काटेर धुर्मुसलाई दिए । अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटउन चितवनमा खुत्रुके अभियान सुरु गरिएको छ । भरतपुरको सनराइज इंग्लिस स्कुलमा अभियानको सुरुवात भएको हो । विद्यालयमा आयोजित कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र प्रधानाध्यापक राजेन्द्रप्रसाद कोइरालाले संयुक्त रुपमा खुत्रुके सार्वजनिक गर्दै अभियानको सुरुवात गरे । सो खुत्रुकेमा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले पैसा जम्मा गर्नेछन् । फाउण्डेसनका अध्यक्ष धुर्मुसले प्याब्सन र हिसानसँग चरणबद्ध छलफल गरेर नै खुत्रुके सहयोग महाअभियानको सुरुवात गरिएको बताए । उनले सनराइजबाट शुरु गरिएको यो अभियान चितवनका प्रत्येक विद्यालयहरुमा चलाइने जानकारी दिए । चितवनका सबै विद्यालय तथा कलेजहरुले रगंशाला निर्माण अभियानलाई आफ्नै अभियानको रुपमा लिनुपर्ने धुर्मुसको भनाइ रहेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालाले धुर्मस सुन्तली फाउण्डेसनले सुरु गरेको रगंशाला निर्माण अभियान राष्ट्रकै गर्वको कुरा भएको बताउदै यसमा सनराइजको स्कुल पूर्ण साथ र सहयोग रहने प्रतिबद्दता जनाए । केहीदिनदेखि चितवनमा रहेका फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल जिल्लास्तरीय सहयोग तथा समन्वय समिति गठनको तयारीमा लागिरहेका छन् । जिल्ला विभिन्न व्यवसायी, संघसंस्थाका प्रतिनिधीहरुसँग उनले भेटघाट गरिरहेका छन् ।