परिवारको राजीखुसीमा अन्तरजातीय विवाह सम्पन्न

भरतपुर, चितवन। नेपालमा कानुन बनेर लागु भई सक्दा पनि जातीय भेदभाव कायमै छ । अहिले पनि कथित जातकै नाममा यहाँ जातीय विभेद हुने गरेका छन् । यहि विभेदकै बिच पनि धेरै जोडीले अन्तरजातीय विवाह गरेका छन् । यसरी विवाह गर्दा केहि जोडीले शारीरिक, मानसिक याताना पाएका छन् भने कतिपय जोडी घर परिवारबाटअपहेलित भएर दुखी जीवन बिताईरहेका छन् । यहाँ यस्ता जोडीहरु प्नि छन जो अन्तरजातीय विवाह गरेकै कारण वर्षौं देखि आफन्तको सम्पर्कमा नै जान पाएका छैनन् । यि र यस्ता तितो यथार्थ हामी माझ हुँदा हुँदै कानुनबाट पनि कमी आउन नसकि रहेको बेला जनस्तरबाट भने यसको अन्त्य हुनुपर्छ भन्ने आवाज र कार्य हुन थालेको छ ।
त्यसको एक उदाहरण यहाँ आईतबार मात्र भएको एक अन्तरजातीय विवाहलाई लिन सकिन्छ । भरतपुर–२, बेलटाँडीका प्रवेश गोतामे सुनार र भरतपुर–३, बाह्रघरेकी निस्ता अधिकारी क्षेत्रीले परिवारको राजीखुसीमा धुमधामसँग विवाह गरेका छन् ।२०७० साल माघ ०३ गते भागी विवाह गरेका उक्त जोडीले पुन विवाह गरेका हुन् । दुई वर्षको प्रेम सम्बन्धलाई भागी विवाहमा परिणत गरेका उनीहरुको ५ वर्ष पछि दुवै परिवारका सदस्य र इष्टमित्रकोउपस्थितिमा पुन विवाह गरि हिन्दु धर्मको रित अनुसार टिकाटालोे र ढोगभेट गरिएको हो । यस विवाहको सवालमा कुनै संकोच नरहेको र खुसीका साथ विवाह गरिदिएको निस्ताका बाबु बाबुराम अधिकारीले बताए । टिकाटालो र ढोगभेट गर्न ५ वर्ष लागे छ नि भन्ने हाम्रो प्रश्नमा बाबुरामले घरमा वर्षै पिच्छे घटना घटेकोले विधिवत् काम गर्न नसकेको बताए । उनले थपे — ‘हामी त पहिलाबाटै खुसी थियौं, हामीहरुको बिचमा राम्रै आवत जावत थियो तर अहिले मानिस भित्र जात छैन् भन्ने देखाउन यो कार्यक्रम गरेका हौं ।’घर भित्र सामान्य रुपले गर्न सकिने काम आज सबै इष्टमित्रको माझ गर्नुको कारण रातो रगत भएका सबै हामी मानिस नै भएको र उच निच नभएको बाबुरामले बताए ।
बेहुलाका बुवा प्रेम कुमार सुनारले पनि यो जोडीले समाजमा विद्यमान जातीय विभेद हटाउन भूमिका खेलेको भन्दै त्यसमा आफूहरुको पूर्ण सहयोग रहेको बताए । यो जोडीबाट हामी एकदम खुसी छौं, मान्छे भित्र जात त रहेनछ त, मानिसमा जात भएको भए मेरो छोराले निस्तालाई विहे गर्न नै मिल्दैन थियो, यि सबै भ्रम हो मान्छे सबै मान्छे नै हुन् प्रेमले बताए । व्यवसायी समेत रहेका पे्रमले भने – अब देशको विकास गर्न यस्ता सामाजिक र धार्मिक भ्रमहरु ह्टाएर प्रवेश र निस्ताका जस्ता जोडीहरु घर–घरबाट निस्कनु पर्छ । यस्ता जोडीलाई बहिस्कार र अपमान नभइ सम्मान गरे मात्र देश बन्ने सुनारको ठम्याई छ ।
पाँच वर्ष अघि प्रेम विवाह भए पनि आइतबारबाट विधिवत् रुपमा ज्वाई बनियो, प्रवेश भन्दै प्रवेशले खुसी व्यक्त गरे । बेहुली निस्ता अधिकारी सुनारले पनि आफूले गरेको निर्णय सहि रहेको र आफूहरुको सम्बन्ध प्रति गर्व लाग्ने बताईन् । मलाई गर्व लाग्छ मैले जे गरेको छु, ठिक गरेको छु, भन्दै निस्ताले भनिन् – मान्छे भित्र पनि जात छ र सबै मान्छे–मान्छे नै त हुन् नि । हाल रहेको सम्बन्धलाई जस्तो दिन आए पनि डगमगाउन नदिने यो जोडीले हामी सँग बताए ।
बेलटाँडीबाट सयौंकोसंख्यामा पञ्चे बाजा बजाउँदै नारायणी किनारमा अवस्थित जेसिस भवनको परिसरमा रहेको पार्टी प्यालेसमा पुग्दा क्षेत्री परिवारले दुलाह र जन्तिलाई खादा ओडाएर भव्य स्वागत गरेको थियो । हिन्दु धर्ममा व्यवस्था भए अनुसार क्षेत्री परिवारले टिकाटालो गरि प्रवेशलाई ज्वाई बनाए भने सम्धि र सम्धिनीहरु बिच ढोगभेट पनि भएको थियो । यस धर्मव्यवस्थाले तोकेको रित पुरा नगरे सम्म माईती घरमा हुने विशेष कार्यहरुमा छोरी ज्वाईलाई टिका लगाउन र अन्य धार्मिक कार्यमा समावेश गर्न नहुने विश्वास छ । प्रवेश र निस्ता ३ वर्षीया छोरी नायसाको बुबा आमा पनि बनिसकेका छन् ।