मेडिकल कलेजले एिको चर्को शुल्क फिर्तासम्बन्धी सहमति अझै कार्यान्वयन भएन !

वैशाख १९, काठमाडौं । तोकिएभन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्ने सरकार र मेडिकल कलेजबीच भएको सहमति कार्यान्वयनमा आउन सकेको छैन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र शुल्क फिर्ता गर्ने सहमति ८ चैत २०७५ मा भएको थियो ।

सहमति क्रममा शिक्षा मन्त्रालयका उच्च अधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिनिधिहरूसमेत सहभागी थिए । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालका अनुसार शुल्क फिर्ता गर्ने सन्दर्भमा विश्वविद्यालयसँग प्रगति विवरण माग गरिएको छ । तर, कुनै पनि विश्वविद्यालयले अहिलेसम्म शुल्क फिर्ताका विषयमा प्रगति विवरण पठाउन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसैगरी, मेडिकल कलेजले विद्यार्थीबाट चर्को शुल्क असुलेको सन्दर्भमा अध्ययन गर्न संसद्को शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमिति पनि काम गर्न नसकेर निष्क्रिय अवस्थामा देखिएको छ । समितिले अध्ययन प्रतिवेदन बाहिर नल्याउँदा मेडिकल माफियाहरूको मनोबल बढ्दै गएको छ । उपसमितिका संयोजक सुरेश राईले मेडिकल कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरेको विषयमा उपसमितिले तयार पारेको प्रतिवेदन अब छिट्टै नै बाहिर ल्याउने बताए । उनले भने, ‘सम्बन्धित विश्वविद्यालय, मेडिकल कलेज, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयबाट डकुमेन्ट झिकाएर अध्ययन गरेका छौं, गुनासाहरू पनि केन्द्रित गरेका छौं, एक दुई दिनभित्रमा नै यससम्बन्धी निर्णय गर्छौं ।’

१७ लाख धरौटी बुझाएर अर्याल रिहा

करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटी रकम बुझाएर रिहा भएका छन् । काठमाडौंस्थित किस्ट मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज, पोखरास्थित गण्डकी मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले एमबीबीएस अध्ययनका क्रममा विद्यार्थीबाट मनपरी शुल्क असुल गर्दै आएका छन् ।

सरकारले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेजका लागि ३८ लाख ५० हजार शुल्क निर्धारण गरेको थियो ।
गण्डकी मेडिकल कलेजले प्रतिविद्यार्थी ५ लाख रुपैयाँदेखि ३० लाख, युनिभर्सल मेडिकल कलेजले ३ करोड, नेसनल मेडिकल कलेजले छात्रवृत्ति प्राप्त विद्यार्थीबाट पनि हजारौं शुल्क लिएको पाइएको छ । विद्यार्थीहरूले शुल्क फिर्ताका विषयमा बोल्दा सम्बन्धित मेडिकल कलेजले आफूलाई मानसिक तनाव दिने गरेको बताउने गरेका छन् । राजधानीबाट ।