‘मजदुरलाई हड्ताल गराएर नेता मालिकसँग बार्गेनिङ गर्छन्’ अनि कसरी मजदुरको हित हुन्छ !

वैशाख १९, काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले मजदुर नेताहरु मजदुरका लागि नभै मालिकका लागि सहयोगी बनेको आरोप लगाएका छन् ।

१३० औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बाराको सिमरामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री यादवले मजदुरका नेताले मजदुरलाई सडकमा उतारेर आफू मालिकको पक्षमा लागेर आर्थिक लाभ गर्ने गरेको बताए ।

मजदुर र किसानको हितमा लाग्ने मजदुर नेता श्रम प्रति पनी आस्था राख्नुपर्ने धारण राखे ।

‘एकातिर मालिककाबिरुद्धमा हडताल गराइदिने, अर्कोतिर मालिकसंगै गएर बार्गेनिङ्ग गर्ने अनि मजदुर चिल्लै, जहाँको तहिँ १’, मन्त्री यादवले भने, ‘अब सोच परिवर्तन गर्न जरुरी छ, अब आफ्नो अधिकारका लागि आफँै लडनु पर्छ ।’

उनले अब आर्थिक क्षेत्रमा क्रान्ति ल्याउन आफैं श्रमिक आफैं मालिक बन्नुपर्ने, सहकारी अभियानमा लाग्नुपर्ने र अब प्रविधिमैत्री किसान बनी अब तलब र भत्ता बृद्धीका लागि मजदुर नेताकहाँ पुग्न आवश्यक नरहेको जिकिर गरे ।

नयाँ संविधानले मजदुरहरुको हक अधिकार सुनिश्चित गरिसकेको भन्दै उनले यसको लागी थप मजदुरहरुको हक हितको सुरक्षा ऐन समेत बनेको बताए ।

उनले मजदुरहरुको हकमा सरकारले गरेको निर्णय पालना नगर्ने जुन सुकै उद्योगका मालिकलाई कारवाही गर्न सरकार तयार रहेको भन्दै अब समयसँगै सबैलाई रुपान्तरण हुन समेत आग्रह गरे । राजधानीबाट ।