पाँचौँ भरतपुर महोत्सव : स्टल व्यापारीमाथि हातपात

 आयोजकले माग्यो माफी

भरतपुर । जारी भरतपुर महोत्सवको चौँथो दिन बुधबार महोत्सवका स्टल व्यापारीहरुले आफूहरुमाथि आयोजकबाट हातपात भएको आरोप लगाएका छन् ।

लगातार तीन दिनसम्म पनि बोहनी नभएपछि स्टल व्यापारीहरुले आफ्ना लिखित मागहरु राख्न महोत्सव सचिवालय जाँदा हातपात भएको उनीहरुको आरोप छ । हातपातपछि दुई पक्षबीच भएको छलफलका क्रममा आयोजक युवा संघ, भरतपुरका अध्यक्ष असीम भट्टराईले घटना निन्दनीय भएको भन्दै माफी मागेका छन् ।

आयोजकले महोत्सवको प्रचारप्रसार नगर्दा दर्शकहरु महोत्सव नआएको व्यापारीहरुको गुनासो छ । मागपत्र बुझाउन जाँदा आयोजकका केही पदाधिकारीहरुले अभद्र व्यवहार गरी हातपात गरेको महोत्सवमा पाँचवटा स्टल राखेका दीपक श्रेष्ठले बताए । घटनामा आयोजकले संयमितता अपनाउन नसकेको उनले बताए । एउटा स्टलको दस दिनको १८ हजार पाँच सय रूपैयाँका दरले आयोजकलाई पैसा बुझाएको तर दिनमा बोहनी हुन पनि मुस्किल परिरहेको उनको भनाइ छ ।
उनले महोत्सवमा बिस्कुट, फेन्सी सामग्री, लेडिज जुत्ता र खेलका स्टलहरु राखेका छन् । यहाँ ज्यानको सुरक्षासमेत नरहेको भन्दै उनले महोत्सवबाट आफ्ना स्टलहरु निकाल्ने निर्णय गरेका छन् । ‘काठमाडौँदेखि दुई पैसा कमाउन सकिन्छ कि भनी स्टल राख्न आएको थिएँ तर यहाँ व्यापार त परै जाओस्, ज्यानको समेत सुरक्षा हुन सकेन’, उनले भने । छलफलमा व्यापारीहरुको माग सम्बोधन नभएपछि आज बिहीबार पुनः छलफल गर्ने निर्णय भएको छ । व्यापारीहरुले गेट पास मागेपछि महोत्सव आयोजक युवा संघ, भरतपुरका अध्यक्ष भट्टराईले सुरक्षाको ग्यारेन्टी गर्ने र एक–दुई दिन अझै कुर्न आग्रह गरेका छन् ।

भरतपुरको राष्ट्रिय सहकारी विकास बोर्डको खाली मैदानमा जारी महोत्सवबारे स्थानीयहरुलाई समेत जानकारी नरहेको पाइएको स्टल नं १ मा रहेको रेस्टुरेन्ट सञ्चालक विशाल ढकालले बताए । महोत्सवको प्रचारप्रसार नभएको र व्यापारीहरुको सुरक्षा पनि नरहेकाले महोत्सवमा राखिएका २१७ वटै स्टलका व्यापारीहरुले महोत्सवबाट निस्कने निर्णय गरेको उनको भनाइ छ ।

महोत्सवको स्टल नं १३ मा झोलाहरुको स्टल राखेकी धादिङकी गीता वस्तीले दैनिक बोहनी पनि नभएको गुनासो गरिन् । कोठा भाडामा लिएर बस्दा उल्टै खर्चमात्रै भएको उनको भनाइ छ । आयोजकले भने सञ्चारमाध्यमहरुबाट महोत्सवको प्रचारप्रसार भएको दाबी गरेका छन् ।
चैत ३ गतेदेखि सुरू भएको महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुनेछ । चितवन पोष्टबाट