यसरी बन्दैछ सत्तरी करोडको शान्तिवाटिका, पाँच करोडको आमाघर

मकवानपुर । मनहरि गाउँपालिका वडा नम्बर ८ सिमपानी । दुई वर्ष अघिसम्म यो ठाउँ काठ तस्करको अखडा र गाँजा तस्करीको बाटोका रुपमा कुख्यात थियो । यतिबेला यसको परिचय फेरिएको छ । सत्तरी करोड रुपैयाँ खर्चेर शान्तिवाटिका ९पिसपार्क० र पाँच करोड रुपैयाँको लागतमा आमाघर सेवा आश्रम निर्माण कार्य सुरु भएको छ । दुई वर्षपछि शान्ति खोज्नेहरुका लागि उपयुक्त गन्तव्य बन्नेछ सिमपानीस्थित पिसपार्क ।

हेटौंडाबाट ३० किलोमिटर पश्चिम र भरतपुरबाट ४६ किलोमिटर पूर्वमा पर्ने मनहरि बजारबाट पाँच सय मिटर उत्तरतर्फ सामुदायिक वन नजिकको १२ बिघा जमिनमा मनहरि पिसपार्क निर्माण भइरहेको छ । सिमपानी देवकोट संयुक्त वन उपभोक्ता समिति, मनहरि गाउँपालिका र ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मनहरिको संयुक्त प्रयासमा पिसपार्क बनाउन लागिएको ब्रह्मकुमार विजयराज सिग्देलले जानकारी दिनुभयो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मनहरिको व्यवस्थापनमा सञ्चालन हुने पिसपार्क आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बनोस् भन्ने लक्ष्य लिइएको सिग्देलले बताउनु भयो ।

पिसपार्क निर्माणका लागि सिमपानी देवकोट संयुक्त वन उपभोक्ता समितिले ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र मनहरिलाई १२ बिघा जमिन उपलब्ध गराएको समितिका अध्यक्ष नारायण उप्रेतीले जानकारी दिनुभयो । पिसपार्क निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसकेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण परियोजनाले एक करोड रुपैयाँ बराबरको मेसजाली लगाएर कम्पाउण्डिङको कार्य गरिरहेको छ । पिसपार्क निर्माणका लागि प्रदेश सरकारबाट ३० लाख, मनहरि गाउँपालिकाबाट ३० लाख, चुरे संरक्षण परियोजनाबाट १५ लाख, पूर्वसांसद राजाराम स्याङतानमार्फत सांसद विकास कोषबाट १० लाख र जिल्ला पर्यटन विकास समितिबाट पाँच लाख रुपैयाँ प्राप्त भएको ब्रह्मकुमार सिग्देलले जानकारी दिनुभयो ।

पिसपार्क परिसरमा हेटौंडा निवासी व्यवसायी ज्योति बज्राचार्यले बुद्धमूर्ति स्थापना गर्नु भएको छ । यसैगरी मनहरिमा रहेको जनसेवा क्रसर प्रा।लि।ले पिसपार्क प्रवेशद्वार निर्माण गरिदिने भएको छ । प्रवेशद्वार निर्माण कार्य भइरहेको छ । पिसपार्क परिसरमा पर्ने डाँडामा ध्यान केन्द्र र गोलघर निर्माण भइसकेका छन् । पोखरी निर्माणको काम पनि सुरु भइसकेको छ । वाटिका निर्माणको काम समेत सुरु गरिएको छ ।

आँगनमा आमाघर
पिसपार्कको मुख्य प्रवेशद्वार अगाडि तीन कठ्ठा जमिनमा आमाघर निर्माण भइरहेको छ । एक सय २५ जना आमाहरुलाई सेवासहितको आवासीय सुविधा उपलब्ध हुने आमाघर तीनतल्ले निर्माण हुने आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । पहिलो तल्ला ढलानको संघारमा रहेको आमाघर निर्माण सम्पन्न भएपछि सहयोगापेक्षी एक सय २५ जना महिलालाई सेवा दिन ४० जना स्वयंसेवी कर्मचारीको व्यवस्था गरिने उहाँले बताउनु भयो ।

आमाघर निर्माणका लागि एक करोड रुपैयाँको प्रतिवद्धता आइसकेको र त्यसमध्ये ५० लाख रुपैयाँ संकलन भइसकेको आश्रम कार्यालयले जनाएको छ । आमाघर सेवा आश्रम जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको गैरसरकारी संस्था हो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालको संरक्षणमा रहने आमाघरको सञ्चालन र व्यवस्थापन कार्य सेवा केन्द्रका नियमित साधक, स्थानीयवासी र दाताहरुबाट हुने बताइएको छ ।