भोली विप्लव नेकपाको नेपाल बन्द


काठमाडौँ । एकिकृत जनक्रान्तिको लागी तयारी गरिरहेको बताउदै आएको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता एवं कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा र कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, कपिलवस्तु, कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसन र सरकारी दमनका विरुद्ध भोली फागुन ३० गते आमहडतालसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
नेकपाका महासचिव विप्लवले गत् फागुण २४ गते एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाईएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते बनाईफिएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भर्तस्ना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’
नेकपाका महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताको हितका लागि पार्टीले प्रतिरोध सङ्घर्षको बाटो पकडिरहेको छ । विडम्बना, कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ ।
यसर्थ लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरि भइरहेको सेना, प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पु¥याइदिनुहुन विशेष आग्रह गर्दछौँ ।’बिप्लबको बिज्ञप्तीमा जनाईएको छ ।
– आजको भण्डाफोर अभियानबाट