विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ


चितवन, ३० फागुन । चितवनमा विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती भरतपुर महानगरपालिका–५ मा रहेको वर्डा कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंंकामा चितवन प्रहरीले दुई जना लाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको परिचय प्रहरीले खुलाउन मानेको छैनन् । साथै, सोही बिस्फोटमा संलग्न रहेको आशंकामा पक्राउ परेका दस जना मध्य सात जनालाई साधारण तारेखमा छाडिएको छ भने अन्य तीन जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शंकास्पद बस्तु बम होइन स् प्रहरी ।
यता, चितवनको नारायणगढस्थित कृषि विकास बैँक अगाडि फुटपाथको चौतारामा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको पनि त्यो बम नरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरी प्रमुख सुशील सिंह राठौरले दिनुभएको जानकारीअनुसार रंगको बट्टालाई सेतो प्लाष्टिकले बेरेर जनतालाई तर्साउने नियतबस चौतारोमा राखिएको र अनुसन्धानका क्रममा त्यो बम वा अन्य कुनै तर्साउने किसिमको बस्तु नभएको राठौरले बताए ।