सुत्केरी महिलाहरुलाई यातायात खर्च वितरण

चितवन, २९ फागुन । पुर्वी चितवनको खैरहनी नगरपालिकाले सुत्केरी महिलाहरुलाई यातायात खर्च वितरण गरेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माया पाण्डेका अनुसार सुत्केरी भएको २८ दिनभित्र स्वास्थ्य जाँच गराएर बाल मृत्युदर घटाउने सरकारको लक्ष्य अनुसार सुत्केरी भएपछि कम्तीमा तीनपटक स्वास्थ्य जाँच गराएका २१ जना सुत्केरी महिलाहरुलाई प्रोत्साहन स्वरुप यातायात खर्च उपलब्ध गराएको बताइन् ।

नगरपालिका मेयर लालमणि चौधरी, वर्डा नम्बर १० का वडाध्यक्ष कारीराम चौधरी र ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेतीले सुत्केरी महिलालाई यातायात खर्च वितरण गरेका हुन् ।

चालु आर्थिक वर्षको साउनयता सुत्केरी भई स्वास्थ्य परीक्षण गराएका महिलाहरुलाई यातायात खर्च प्रदान गरिएको कठार स्वास्थ्यचौकी प्रमुख रामचन्द्र श्रेष्ठले बताए ।