ब्याजदर घटाउन उद्योगी व्यवसायीको माग ।


चितवन , २१ फागुन । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका छन् । चितवन चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा चर्को ब्याजदरले उद्योग व्यवसायी मारमा परेको बताएका छन् ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले ब्याजदर वृद्धिलाई निश्चित सीमाभित्र रहने वातावरण बनाउन आग्रह गरेका हुन् । “चर्को ब्याजदरले निजी क्षेत्रका परियोजनाको लागत वृद्धि भएको छ”, उनले भने, “नयाँ उद्योग, कलकारखाना खोल्न, व्यवसाय सुरु हुन सकेका छैनन्, अर्थतन्त्र नै प्रभावित बनेको छ ।” सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकले पहल गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल श्रेष्ठले गाडी किन्न सहजै कर्जा पाउने अवस्था भएपनि उद्योग व्यवसाय सुरु गर्न खोज्दा सहज नभएको दुस्खेसो सुनाए ।

“बैंकहरुले एकलौटी बढाएका छन्”, उनले भने, “मौद्रिक नीतिबाटै सम्बोधन गर्न कार्यदल बनेको छ, आशा गरौं, छिटो समाधान होस् ।” उनले उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उत्पादकत्व बढाएर आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने बताए ।

“कच्चापदार्थ र स्रोतहरु उपयोगमा आउन सकेका छैनन्”, उनले भने, “उत्पादनमूलक उद्योगमा प्रोत्साहन दिनुपर्छ, चर्को ब्याजदर हटाउनुपर्छ ।” उद्योग वाणिज्य संघ चितवनका पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले ढाडै सेक्ने गरी बढेको ब्याजदर हटाउनुपर्ने बताए ।

निक्षेपको ब्याजदरमा बैंकहरुले गरेको भद्र सहमति तोडेर कर्जाको ब्याजदर बढाएका छन् । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले झण्डै दोब्बर वृद्धि भएको ब्याजदरले उद्योग व्यवसायमा निराशा छाएको बताए । “७–८ प्रतिशत ब्याज अहिले १४ प्रतिशतसम्म बढाइएको छ”, उनले भने, “राष्ट्र बैंक चनाखो बन्नुपर्छ, अनुगमन गर्नुपर्छ ।” उनले तत्कालै बैंकको ब्याजदर नघटाइए लगानी बढ्न नसक्ने बताए । “विकास बजेट छिटो कार्यान्वयनमा ल्याउनुपर्छ”, उनले भने, “यसले ब्याजदर घटाउन पनि सहयोग पुग्छ ।”

कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश ३ का उपाध्यक्ष राजन गौतम, चेम्बर अफ कमर्स प्रदेश ३ का संयोजक कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठ, नेकपा चितवनका तेजेन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेत, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णप्रसाद डल्लाकोटी, भरतपुर महानगरका उपमेयर पार्वती शाह, सांसद्हरु मिलनबाबु श्रेष्ठ, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रीना गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चितवन शाखालाई सदस्यता ।
नेपाल चेम्बर अफ कमर्सले चितवनको चेम्बर अफ कमर्सलाई जिल्ला शाखाको रुपमा प्रमाणपत्र दिएको छ । केन्द्रीय अध्यक्ष श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरे ।

यहीं साउनको पहिलो साता गठन गरिएको तदर्थ समितिले साउन १४ गते आधिकारिता पाएको थियो । यही माघ २६ गते पहिलो अधिवेशनले २० सदस्यीय कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा दीर्घमान श्रेष्ठ, उपाध्यक्षमा गोपाल भट्टराई, महासचिव बालकुमार श्रेष्ठ, सचिव मनोज विष्ट, कोषाध्यक्ष निर्मला पण्डित चयन भएका थिए ।

पदस्थापन कार्यक्रममा केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाको लोगो सहित पीन कार्यसमितिलाई हस्तान्तरण गरेका हुन् । जिल्ला शाखाको माडी र खैरहनीमा इकाइ गठन भइसकेका छन् । “६५ देशका चेम्बरहरुसँग ‘एमओई’ भइसकेको छ”, केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, “विदेशी लगानी वा नयाँ प्रविधि भित्राउन जिल्ला शाखाले समन्वय गरोस् ।” १६ देशमा चेम्बर अफ कमर्सले १६ देशमा व्यापार प्रतिनिधि राखेकाले नेपालको उद्योग व्यवसायको स्तरोन्नति गर्न सहयोग पुग्ने बताए । उनले यही मार्चमा हुन लागेको ‘इन्भेष्टमेण्ट समिट’ मा चितवनमा सम्भावित लगानीका क्षेत्र बारेको खाका प्रस्तुत गर्न सुझाए ।

“चितवनमा विदेशी लगानी गर्न इच्छुक छन्”, उनले भने, “निजी क्षेत्रले यसका लागि पहल गर्नैपर्छ, चितवनलाई आर्थिक राजधानी बनाउन सकिन्छ ।” चितवनलाई कृषि र पर्यटन क्षेत्रमा प्रशस्तै लगानी भित्राउन सकिने बताए । उनले स्वदेशी उत्पादनलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्ने बताए ।

जिल्ला अध्यक्ष दीर्घमान श्रेष्ठले उद्यमशीलता, रोजगारी सृजना, क्षमता अभिवृद्धि गर्न सक्रिय भएर लाग्ने बताए । सो अवसरमा उद्योग वाणिज्य संघ र चितवन उद्योग संघले सहकार्य गरेर चितवनलाई आर्थिक राजधानीका रुपमा विकास गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् । भरतपुर–३, बाह्रघरेस्थित चेम्बर अफ कमर्स चितवनको कार्यालय सञ्चालनमा आएको जिल्ला उपाध्यक्ष गोपाल भट्टराईले बताए ।