सीमाका सयौं नेपालीमाथि भारतीय ज्यादती : जनप्रतिनिधिसमेत हरेक वर्ष तीन सय बुझाउन बाध्य

 


कैलाली / भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षौंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ ।
‘भनेअनुसार नगरे पारि गएका बेला कुटपिट गर्ने, चोरीसिकार, तस्करी लगायतका झुटा मुद्दा लगाएर फसाइदिने धम्की दिने गरेकाले बाध्य भएर निःशुल्क श्रम गर्न र नगद बुझाउन बाध्य हुँदै आएका छौं,’ कैलारी गाउँपालिका–३ का वडा सदस्य भगीराम चौधरीले भने, ‘के गर्नु, गाईगोरु चराउन र सामान खरिद गर्न सीमापारि जानुपर्ने बाध्यता छ ।’

सर्वसाधारणमात्रै नभई त्यस क्षेत्रका जनप्रतिनिधिहरूसमेत भारतीय पक्षलाई नियमित रकम बुझाउन र परिवारका एक सदस्य निःशुल्क श्रम गर्न पठाउन बाध्य छन् । ‘सबैले विरोध गरे पनि हाम्रो केही चल्दैन, अनेक बाहना बनाएर फसाउन र दुःख दिन सक्ने भएकाले म आफैं पनि त्यसो गर्न बाध्य छु,’ कैलारी गाउँपालिका–३ वडाअध्यक्ष कैलाश चौधरीले भने। भारतीय पक्षलाई रकम नबुझाए विभिन्न लाञ्छना लगाउने, सताउने, धम्क्याउने र कुटपिट गर्ने गरेको उनी बताउँछन् ।‘ उनीहरूले भनेको नमाने अरूले काटेको काठमा उभ्याएर फोटो खिच्ने, वन्यजन्तुका अंग, हड्डी र छाला भेट्टाएको भनेर मुद्दा लगाउने गर्छन्,’ उनले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।