सामुदायिक विद्यालयका शिक्षक पेशाप्रति जिम्मेवार नरहेको नेता पाण्डेको आरोप


चितवन, फागुन ६ /पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् ।

रत्ननगर नगरपालिका–१५ स्थित आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सवअन्तर्गत स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा बोल्दै नेता पाण्डेले शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताएका हुन् ।

‘सामुदायिक विद्यालयका शिक्षकलाई जागिर जाला भन्ने डर छैन’ उनले भने, ‘डर नभएको ठाउँमा राम्रो काम पनि हुदैन ।’ उनले सरकारले शिक्षकहरुलाई आवश्यक तलब दिएको भए पनि शिक्षकहरुले जिम्मेवार भएर नपढाएको भन्दैं सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार र उपकरण हुँदाहुँदै पनि शिक्षककै कारण गुणस्तर सुधार हुन नसकेको बताए । शिक्षकले राम्ररी नपढाए जागिर चैट हुने प्रावधान ल्याउन सके शिक्षकहरु पेशाप्रति जिम्मेवार हुने नेता पाण्डको जिकिर थियो ।

कार्यक्रममा स्वर्ण स्तम्भको अनावरण, सरस्वती मन्दिरको उद्घाटन र स्वर्ण स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बालकृष्ण ढकालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष रमेश लामिछानेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, वडा अध्यक्ष हुमनाथ लामिछाने, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदी, नगर शिक्षा अधिकृत राजेन्द्र बराल, शिक्षक अभिभावक संघका अध्यक्ष विजय खनाल, छात्रा सचना धमलालगायतको उपस्थिीती रहेको थियो । २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल २५७ जना विद्यार्थी अध्ययनरत छन् ।