सर्वोच्च अदालतको आदेश नमान्ने भन्दै माडीबासीद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक ।


चितवन , ६ फागुन । सर्वोच्च अदालत बाट आएको फैसला आफूहरुलाइ मान्य नहुने भन्दै चितवन माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् । आन्दोलन कार्यक्रम अन्तर्गत अन्तरक्रिया, र्‍याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् । उनीहरुको सार्वजनिक गरेको आन्दोलन कार्यक्रम अनुसार आज फागुन ६ गतेदेखि २० गते सम्म भरतपुर चौविसकोठीमा साँझ ४ः३० देखि ५स्०० बजेसम्म प्लेकार्ड सहित नियमित मौन प्रदर्शन गर्ने , फागुन १६ देखि १९ सम्म भरतपुरमा १२ घण्टे रिले अनसन २० गते प्रदर्शन र २१ गते भेला आयोजन गर्ने, फागुन १४ गते पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा अन्तरक्रिया गर्ने लगायत तय भएको अभियानका संयोजक मिलनदीप पौडेलले जानकारी दिए । अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्टिय निकुन्ज क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । फैसलामा, ‘निकुञ्जको कार्यालय, युनेस्को लगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्नु नगराउनु’ भनिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माण नगर्नु भनी अदालतबाट फैसला आएपछि यसको विरोधमा माडीका स्थानीय उभिदै आएका छन् । उनीहरुले माडीमा कुनैपनि वहानमा विकासको कामलाई अवरोध गर्न नहुने माग समेत राखेको छ ।