जिल्ला प्रशासन कार्यालय भक्तपुरका अधिकृत २५ हजार घुससहित पक्राउ


काठमाडौँ, २ फागुन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश श्रेष्ठ २५ हजार घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए ।

मध्यस्थताको भूमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने भन्दै घुस रकम मागेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए । श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए ।