चितवनको सौराहामा जारी फुड फेस्टिबलको प्रशासनद्वारा अनुगमन ।

 चितवन , २ फागुन । प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले आयोजना गरेको फुड फेस्टिबल परिसरमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा मिति उल्लेख नभएका पेय पर्दार्थहरुको बिक्रीवितरण भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले फुड फेस्टिबल परिसरमा रहेकामध्य २६ वटा रेस्टुरेन्टहरुको अनुगमनका क्रममा केही रेस्टुरेन्टहरुमा मिति सकिएका पेय पदार्थ बिक्रीका लागि राखिएको, पाउरोटी र केकमा उत्पादन र उपभोग्य मिति नरहेको र व्यक्तिगत सरसफाइमा कमजोरी भएको पाइएको हो । फेस्टिबल घुम्न आउने दर्शकहरुलाई स्वच्छ खाना प्रदान गर्न सचेत गराउने उद्देश्यका साथ गरिएको उक्त अनुगमनमा क्रममा केही रेष्टुरेन्टमा कमजोरी फेला परेको र तत्कालै सुधार गर्न निर्देशन समेत दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए । साथै होटल, रेस्टुरेन्ट सञ्चालकहरुले पालना गर्नु पर्ने नियमहरुको पम्प्लेटसमेत वितरण गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख राउत, खाद्य निरीक्षक काफ्ले, रेवानका अध्यक्ष गिरी, फेस्टिबल संयोजक धुब्र गिरी, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवानका केन्द्रीय उपाध्यक्ष राजन भट्ट, प्रहरी र पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।