कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोली सम्मानित ।


चितवन । भारतको गोवामा आयोजित प्रथम अन्तर्रा्ष्ट्रिय समुन्द्रीत युद्धकला खेल अन्तर्गत गोजु–रियो कराँते प्रतियोगितामा पहिलो भएको नेपाली टोलीलाई आज चितवनमा सम्मान गरिएको छ । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराँते डो केन्वाकाई शाखाबाट प्रतियोगितामा सहभागी खेलाडीहरु सम्मानित भएका हुन् । सात देशका ३५० खेलाडी सहभागी भएको खेलमा १० स्वर्णसहित १७ पदक प्राप्त गर्दै नेपाल पहिलो भएको थियो । जनवरी १७ देखि २० तारिकसम्म भारतको गोवामा भएको प्रतियोगितामा नेपालबाट गोजु–रियो करातेमा सहभागी सातै जना खेलाडीले पदक प्राप्त गरेका छन् । नेपाली टोलीका प्रमुख प्रशिक्षक राजु पौडेलका अनुसार सो प्रतियोगितामा नेपालले बक्सिङमा समेत थप दुई स्वर्ण पदक प्राप्त गरेको छ । कराते र बक्सिङ प्रतियोगितामा सहभागी भएका नौ जना खेलाडीले १९ वटा पदक प्राप्त गरेकाले खेलाडीका साथै प्रशिक्षकलाई नारायणगढमा सम्मान गरिएको हो ।
प्रतियोगितामा नेपाल, भारत, इरान, अफगानिस्तान, संयुक्त अरब इमिरेट, बङ्गलादेश तथा साउदी अरेबीयाका खेलाडीहरु सहभागी थिए । सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपालमा खेलको माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने बताए । खेलाडीको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै प्रधानले खेलकुदको विकासका लागी सरकारले सहयोग गर्नुपर्ने बताए । चितवनको मङ्गलपुरमा रहेको जापान गोजु–रियो कराँते डो केन्वाकाई शाखा खेलाडीहरुले यस अगाडि भदौ दोलखाको चरिकोटमा भएको आठौँ राष्ट्रिय च्याम्पियनशीपमा समेत दोस्रो स्थान हासिल गरेका थिए । शाखा सञ्चालनको अवधिमा खेलाडीले सफलता प्राप्त गरिरहेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहनका खाँचो रहेको प्रमुख प्रशिक्षक पौडेलले बताए ।