रत्ननगर नगरपालिकाभित्र बालगृहहरुको अनुगमन

 सानो घरले मापदण्ड पूरा गरेनन् ।

चितवन/ रत्ननगर नगरपालिकाले यहाँको नगरभित्र रहेका बालगृहहरुको अनुगमन सुरु गरेको छ । नगरभित्र रहेका बालगृहको अवस्थाबारे जानकारी लिने उद्देश्यले नगरपालिकाले अनुगमन सुरु गरेको हो । पहिलो दिन वडा नम्बर २ स्थित सानो घर र वडा नम्बर १५ स्थित कृपा नेपालमा अनुगमन गरेको नगरपालिकाले दुई संस्थामध्ये सानो घरले मापदण्डमा सुधार गर्नुपर्ने देखिएको प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले बताए । सानो घरमा १९ जना बालिका र १ जना बालक आवासीयरुपमा अध्ययन गरिरहेका छन् । “बालबालिकाको संख्या धेरै हुँदा खान बस्नसमेत समस्या रहेको पाइयो”, प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने, “पहिलोपटक अनुगमन गरिएकाले सुधारका लागि निर्देशन दिएका छौं ।” साँघुराका साथै फोहर व्यवस्थापनमा पनि सानो घरले सुधार गर्नुपर्ने देखिएको रेग्मीले बताए । कृपा नेपाल नगरपालिकामा दर्ता नभएकाले गर्न भनिएको छ । रत्ननगर वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक केशव आचार्यका अनुसार नगरभित्र ११ वटा बालगृह रहेका छन् । ती सबै बालगृहको अनुगमन गरेपछि मापदण्ड पूरा नगरेकालाई पहिलो चरणमा सजग गराउने र त्यसपछि पनि अटेर गरेर बन्दसम्म गर्ने सामाजिक विकास समिति संयोजक आचार्यले बताए । बुधबार गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत रेग्मी, वडाध्यक्ष आचार्य, रत्ननगर–१५ का वडाध्यक्ष हुमनाथ लामिछाने, महिला तथा बालबालिका शाखा प्रमुख सुशीला वाग्लेसहित सहभागी थिए ।