महिलाहरु समयानुकल बजार अध्ययन गर्न पछि परे : सहायक डिन डाक्टर त्रिपाठी

१२ औं चितवन महोत्सव अन्तर्गत बुधबार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा महिला उद्यमी भेला तथा अन्तरक्रिया गरिएको छ । भेलामा करिव डेढ सय महिला उद्यमीहरु सहभागि भए । कार्यक्रममा सांसद गीता वाग्लेले अबको समय आर्थिक क्रान्तिको भएको उल्लेख गरीन् । घर परिवार सम्हाल्दै उद्यममा संलग्न महिलाहरुको लागि आफ्नो साथ र सहयोग रहने उनले बताइन् । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्योग वाणिज्य संघ चितवनले महिला सदस्य वृद्धिका लागि निशुल्क सदस्यता वितरण गरी आकर्षति गरिरहेको बताए । संघमा आवद्ध रहँदा धेरै समस्या समाधानका लागि आवाज बलियो हुने भन्दै उनले संघमा आवद्ध रहन समेत आग्रह गरे । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सहायक डिन डाक्टर कल्याणी त्रिपाठीले विषयपत्र प्रस्तुत गर्दै महिला उद्यमीका सम्भावना र चुनौतीबारे जानकारी गराइन् ।उद्यम गरिरहेका महिलाहरु समयानुकल बजार अध्ययन गर्न पछि परेको उनले औल्याएकीछिन् । उनका अनुसार व्यवसाय र परिवारको सन्तुलन , लगानी गर्ने विउ पुँजीको अभाव, नेटवर्क क्षमता मुख्य समस्या रहेको उनको ठम्याई छ । महिला उद्यमी भेला तथा अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीहरुको अपेक्षा संकलन गरिएको छ । उनीहरुको समस्या र अपेक्षा अनुसार आगामी कार्यक्रम तय गर्न सहज हुने कार्यक्तम संयोजक लक्ष्मी रिमाल पौडेलले बताइन् । कार्यक्रममा एनएमबी बैंक नारायणगढका प्रबन्धक विष्णु पौडेलले महिला उद्यमीहरुको लागि सञ्चालन गरीएको कर्जा कार्यक्रमबारे जानकारी गराएकाछन् । महिलाहरुले बिना धितो कर्जा लिन सक्ने व्यवस्थाबारे जानकारी गराउँदै १५ लाख रुपैंया सम्म प्रदान गर्ने प्रावधानबारे उनले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका तृतिय उपाध्यक्ष भोजराज कौडाल, महिला उद्यम विकास संयोजक रजनी मास्के, महिला उद्यमी कमला सुवेदीले महिला उद्यमको क्षेत्रमा देखिएका समस्या र सम्भावनाका बारेमा बोलेका थिए ।