आठौँ दिनसम्म चितवन महोत्सवमा चार लाख दर्शकले गरे अवलोकन

 


महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा चितवन महोत्सवको चार लाख दर्शकले अवलोकन गरेका छन् । नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको बुधबार मात्रै ५५ हजार भन्दा बढीले अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले बताए । आज सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका प्रधानको भनाइ छ । पुष २५ देखि सुरु भएको महोत्सवमा दर्शकहरुको चाप बढ्दै जाँदा महोत्सव प्रवेशका लागि तीन वटै गेट खुला गरिएको प्रधानले बताए । एक नम्बर गेटमा महोत्सव अवलोकनकर्ताको भीड थेग्नका लागि हम्मेहम्मे परेको प्रधानको भनाइ छ । महोत्सव सकिने मिति नजिकिदै गर्दा समेत अवलोकनकर्ताहरुको उपस्थिति झन् बढ्दै गएको आयोजकले जनाएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आइरहेको छ । महोत्सव परिसर भित्र रहेका सांस्कृतिक भवन, फन पार्क, कृत्रिम चिडियाघर तथा जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको थियो । बुधबार महोत्सवमा सांस्कृतिक कार्यक्रम सहित जादुगर बलराम सरकार, राजनराज शिवाकोटी, ग्रीस्मा शिवाकोटीको प्रस्तुती रहेको थियो । त्यस्तै, अन्तरविद्यालय नृत्य प्रतियोगिता समेत भएको छ । आदिवासी जनजातिको भेषभूषा प्रदर्शन गरिनुका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको फाइनल समेत भएको छ । प्रतियोगितामा विजेता हुने कलाकारहरुलाई बिहीबार सांस्कृतिक कार्मक्रम समापनका अवसरमा पुरस्कार प्रदान गरिने सांस्कृति कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठले जानकारी दिए । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सव परिसरमा आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरु बनाइएका छन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।