चितवन महोत्सवमा साहित्यिक गोष्ठी सम्पन्न

चितवन महोत्सव अन्तर्गत बुधबार साहित्यिक गोष्ठी सम्पन्न भएको छ । नव सिर्जना हाम्रो परिकल्पना भन्ने नारासहित साहित्यिक गोष्ठी आयोजना गरिएको हो । नारायणढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीमा ८० जना स्रष्टाहरुले रचनावाचन गरेका थिए । साहित्यिक गोष्ठीका क्रममा कविता, गजल, गीत, मुक्तक, हाइकुलगायतका साहित्यिक रचनाहरु वाचन भएका थिए । कार्यक्रममा चितवन, नवलपुर, मकवानपुर, तनहूँ, काठमाडौँ, सुर्खेतलगायतका ठाउँबाट सहभागी भएका साहित्यकारहरुले आफ्नो रचना वाचन गरेका थिए । साहित्यकारहरुले समसामयिक विषयमा रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदीले मन्तव्य राख्दै चितवन महोत्सवको अवसरमा आयोजना गरिएको साहित्यिक गोष्ठीले साहित्य क्षेत्रको उजागर गर्न थप मद्दत पुग्ने बताए । स्मारिका प्रकाशन तथा साहित्यिक गोष्ठी संयोजक सिद्धार्थलाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहेका थिए ।