आर्थिक हिनामिना गरी बेपत्ता मालपोत कार्यालयका लेखा अधिकृत दर्जी अझै सम्पर्कमा आएनन्।

चितवन , २८ पौष । चितवनको भरतपुरस्थित मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जी आर्थिक हिनामिना गरेर बेपत्ता भएका छन् । उनी अझैं सम्पर्कमा नआएको मालपोत कार्यालयका प्रमुख एवम् प्रमुख मालपोत अधिकृत लालकृष्ण शर्मा पौडेलले बताए । उनका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जीले एक करोड ७३ लाख रूपैयाँ लिएर गएको मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको बताए । कार्यालय प्रमुख पौडेलका अनुसार गत, मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न भनी पहिलो पटक पत्र काटेको थियो । ‘तर, पाँचपटकसम्म पत्र काट्दा पनि भुक्तानी गर्न नसकेपछि आन्तरिक लेखा परीक्षकको कार्यालयबाटै २४ घन्टाभित्रै दाखिला गर्नू भनी पुनः मंसिर २० गते पत्र आयो’, उनले भने, ‘त्यसपछि दर्जीले दुई दिन बिदा लिए, त्यसपछि पनि मंसिर २४ गतेमात्रै कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुन अनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर जानुभएको छ ।’ उक्त सनाखत पत्रमा अन्य कसैको संलग्नता नरहेको र राम्रो होसहवासमै रहेर आफैँले खर्च गरेको समेत स्पष्ट खुलाएका छन् । ‘तर, मंसिर २५ गतेबाटै सम्पर्कमा नआएपछि दर्जीको खोजी भइरहेको छ’, उनले भने । कयौंपटकको फोन प्रयास सफल नभएपछि निजलाइ घरमै खोजतलास गर्न जाँदा निजले भरतपुर महानगरपालिका १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा मोबाइल र मोटरसाइकल छाडेर गएको पाइएको उनले बताए । ‘अहिले कानुनी प्रक्रियाअनुसार उपचार हुँदैछ’, उनले भने । उक्त डिपार्टमेन्ट स्टोरमा दर्जीको पनि साझेदारी रहेको खुल्नमा आएको छ । जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार हुँदा समग्र देशभर कै मालपोत कार्यालयको बदनाम भएको उनले बताए । ‘सम्पर्कविहीन भइसकेपछि मंसिर २६ गते नै मालपोत कार्यालयले उक्त रकम असुल गरी विभागीय कारबाहीका लागि अख्तियारमा आवश्यक कागजात बुझाइसकिएको छ’ उनले भने । आवश्यक कार्वाहीको लागी सबै प्रमाण जुटिसकेकोले दोषी कानुनको दायरा बाट भाग्न नसक्ने उनको भनाइ छ । हाल दर्जीको नाममा र उनका परिवारका सदस्यका नाममा रहेका कुनै पनि चलरअचल सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ । दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको उनले बताए । उनले साझेदारी गरेर सञ्चालन गरेको भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्सको समेत सम्पूर्ण बैंक खाता रोक्का गरिएको उनले बताए । दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । प्रमुख पौडेलका अनुसार यसअघि नै अन्य व्यक्ति तथा संघसंस्थाहरुको समेत आर्थिक हिनामिना गरेको बुझिएको छ । लेखा अधिकृत नै फरार भएपछि सेवाग्राहीको काममा समस्या भएको कार्यालयले जनाएको छ । सोही कार्यालयबाटै गत , जेठमा कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए । मालपोत कार्यालय भित्रको बेथिति हुने क्रम अझै रोकिएको छैनन् ।