मारवाडी युवा मञ्चद्वारा आयोजित कार्यक्रममा ४३ जनाले गरे रक्तदान ।

चितवन । पुष १९ । मारवाडी युवा मञ्च नारायणगढको आयोजनामा नारायणगढको लायन्सचोकमा खुला रक्तदान सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ४३ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक डाक्टर आदित्य जनालले बताए । जलानका अनुसार नौ जना महिला तथा ३४ जना पुरुषले रक्तदान गरेका हुन् । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले रगत संकलन कम हुने समयमा मारवाडी युवाहरुले रक्तदान कार्यक्रम गर्नु मानवीय काम भएको बताए । भरतपुर देशकै केन्द्र भागमा रहेकाले यहाँ धेरै ठाउँबाट दुर्घटना लगायतका बिरामीहरु आउने भएकाले रगतको माग अत्यधिक भएको गौतमको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का सहकोषाध्यक्ष फूलकुमार लालवानीले मारवाडीहरु नेपालको अल्प संख्यक समुदायमा पर्ने भएपनि उनीहरुले हरेक सामाजिक काममा भाग लिने गरेको बताए । मारवाडी समुदायको संस्कृति संरक्षणमा जुट्दै युवाहरुले अन्य सामाजिक काम समेत गर्नुपर्ने लालवानीले बताए । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय निवर्तमान अध्यक्ष कञ्चनकुमार अग्रवाल, मारवाडी युवा मञ्च नारायणगढका निवर्तमान अध्यक्ष सन्दिप अग्रवाल, मारवाडी सेवा समिति नारायणगढका उपाध्यक्ष पंकज अग्रवाललगायतले मन्तव्य राखेका थिए । आफूहरुले हरेक वर्ष अंग्रेजी महिनाको जनवरी ३ तारिकलाई मारवाडी युवा दिवसको रुपमा मनाउँदै आएको मारवाडी युवा मञ्च नारायणगढका अध्यक्ष नितेश महेश्वरीले बताए । युवा दिवसको अवसर पारेर साताव्यापी कार्यक्रमहरु सम्पन्न गरेको महेश्वरीको भनाइ थियो । खाद्यान्न वितरणबाट सुरु गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, सरसफाई कार्यक्रम, सडक पेटीमा रहेका व्यक्तिलाई कम्बल वितरण, वृक्षरोपण तथा रक्तदान कार्यक्रम गरिएको महेश्वरीले बताए ।