चितवनको भरतपुर कारागारमा दस बर्षको अवधिमा ४१ जना कैदीले ज्यान गुमाए ।

प्रनिश थापा, चितवन, २० पौष । चितवनको भरतपुर कारागारमा रहेका कैदीबन्दीहरुको मृत्यु हुने क्रम बढ्दै गएको छ । जिल्ला कारागार प्रशासन भरतपुर चितवनको तथ्यांकअनुसार दस वर्षको अवधिमा ४१ जना कैदीको मृत्यु भएको हो । अधिकांश कैदीहरुको मृत्यु क्यान्सर रोगका कारण भएको पाइएको छ । कारागारमा क्यान्सर रोगसँग लडिरहेका बिरामीहरु ल्याइएकोले मृत्युदर पनि बढेको कारागारका प्रमुख कमल काफ्लेले बताए । क्यान्सर कै कारण अहिलेसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । उच्च रक्तचापका कारण मृत्यु हुनेको संख्या १० र २ जनाको अन्य कारणले मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मृतकमध्ये ५ जना महिला रहेका छन्, जस्मा एक जना भारतीय र एक पाकिस्तानी नागरिक रहेको प्रमुख काफ्लेले बताए । हाल ६ जना कैदीहरु क्यान्सर रोग लागेकाहरु रहेको प्रमुख काफ्लेले जानकारी दिए । ‘भरतपुरमा सरकारी क्यान्सर अस्पताल भएकाले अन्य कारागारबाट यहाँ क्यान्सर भएका कैदीहरु पठाउँछन्’, प्रमुख काफ्लेले भने, ‘क्यान्सरको अन्तिम चरणमा पठाइने हुँदा धेरैको मृत्यु उपचारका क्रममा हुने गरेको छ ।’ क्यान्सर भएका बिरामीलाई कारागारभित्र पनि भिन्न राखेर उपचार र हेरचाह गरिने गरेको उनले बताए । तर, बिरामीको आवश्यकताअनुसार खानपिनको सन्तुलन मिलाउन भने नसकिएको कारागारका सूचना अधिकारी नासु रामबाबु श्रेष्ठले बताए । ‘कैदीका लागि दैनिक आउने सिदाबाट नै बिरामीलाई पनि जसोतसो खानेकुरा दिने गरेका छौँ’, सूचना अधिकारी श्रेष्ठले भने, ‘तर, बिरामी कैदीका लागि भनेर भिन्दै बजेट र खान–बस्नका लागि व्यवस्था भने छैन ।’ कारागारमा रोगीहरु समेत अधिक रहेकाले दैनिक अस्पताल जानुपर्ने बाध्यता रहेको उनले बताए । ‘दिनमा एक पटक कोही न कोहीलाई जँचाउन लैजानुपर्छ, भएको एउटा गाडीले कैदीलाई अस्पताल लगेर जँचाउने प्रबन्ध भएपछि मात्र अदालत लैजाने गरेका छौँ’, उनले भने । अदालतसँग समन्वय गरेर काम हुने भएकाले समस्या नभएको उनको भनाइ छ । ३० लाख ५६ हजार रुपैयाँ कैदीबन्दीको औषधि उपचारमा गत आर्थिक वर्षमा खर्च भएको कारागारका सूचना अधिकारी नासु श्रेष्ठले बताए । वार्षिकरुपमा कारागारको उपचार खर्च बढ्दो क्रममा रहेको उनले बताए । ‘क्यान्सर लागेका एउटै बिरामीलाई केमो चढाउन पर्‍यो भने एकैपटक ५० हजारसम्म खर्च हुन्छ’, उनले भने, ‘उपचारमा लैजाने, बिरामी कुर्ने, हेरविचार गर्ने मान्छे नहुँदा समस्या भएको छ ।’ सुरक्षा संवेदनशीलताका हिसाबले कैदीलाई एकछिन पनि छाड्न नमिल्ने तर कारागारमा भने कम जनशक्ति हुने हुँदा समस्या भएको उनले बताए । कारागारबाट आएको बिरामी भन्नेबित्तिकै अस्पतालका डाक्टर र अन्य स्वास्थ्य प्राविधिकले पनि फरक हिसाबले व्यवहार गर्ने गरेको प्रति सूचना अधिकारी श्रेष्ठले दुःखेसोे व्यक्त गरे ।