चितवन महोत्सव पौष २५ गतेदेखि सुरु हुँदै

 महोत्सवको तयारी तीब्र ।

 

 
 
प्रनिश थापा , चितवन , १९ पौष । यस बर्षको चितवन महोत्सव आगामी पुस २५ गतेदेखी नारायणी नदीकिनारमा सुरु हुने भएको छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अग्रसर रहदै सार्वजनिक निजी साझेदारीको अनुपम नमुना बन्न सफल चितवन महोत्सव यसपटक पनि भव्यरुपमा सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको महोत्सवका मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी पर्यटन केन्द्रित विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिएको उनले बताए । जिल्लाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी तथा तस्बिर समावेश गरी पर्यटक गाइड बुक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिने संयोजक प्रधानले बताए । महोत्सव अवधिमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सञ्चार उद्यमको विषयमा गोष्ठी हुने भएको छ । महोत्सवमा चितवनका पर्यापर्यटन झल्कने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनावरहरुको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना रहने, कलात्मक प्रवेशद्वार, बालुवामा कुँदिएको २० फिट लामो माछा, जलयात्रा, खेलकुद गतिविधि, आदिवासी जनजातिको भेषभूषा, कलासंस्कृतिको प्रदर्शनी, हरेक दिन सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम रहने बताइएको छ । साथै, प्रतियोगितात्मक कृषि उपज पनि रहने आयोजकले जनाएको छ । बाल उद्यान हटाएर सबै उमेर समूहका लागी लक्षित गरी फनपार्क सञ्चालन हुने भएको छ । बालउद्यान चलाउँदा भारतीय व्यापारीले पैसा लैजाने भएपछि काठमाडौँकै व्यवसायीलाई फनपार्क सञ्चालनका लागि ७० लाखमा जिम्मा दिइएको महोत्सवका मुल आयोजक समितिका संयोजक प्रधानले बताए । यस्तै, महोत्सवमा पोल्ट्री परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, विद्युत् परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तीय संस्थाहरु, आदिवासी जनजातिका नमुना घर आदि रहने संयोजक प्रधानले जानकारी दिए । सबै स्टलहरुको कुल ५ करोडको बिमा गरिएको छ । मेड इन नेपाल परिसर आगन्तुकहरुका लागि आकर्षणको केन्द्र बन्नेमा आफूहरु ढुक्क रहेको आयोजकले जनाएकोे छ । यस परिसरमा नेपालमा उत्पादित चर्चित र उपयोगी वस्तुहरु प्रदर्शनमा राखिने भएका छन् । उता, अघिल्लो संस्करणमा जस्तै फुड फेस्टिवल आयोजना हुने आयोजकले जनाएको छ । 
महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एंवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट हुने बताइएको  छ । महोत्सवको सुरक्षाका लागि सुरक्षा गार्ड र सिसिटिभीको व्यवस्था गरिनेसमेत संयोजक प्रधानले बताए । उद्योग वाणिज्य संघ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका को संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा साधारण व्यक्तिका लागि ५० र विद्यार्थी का लागि २५ रूपैयाँ टिकट दर कायम गरिएको छ ।