श्रीराम मन्दिर व्यवस्थापन समितिको ५ औं वार्षिक साधारणसभा सम्पन्न
मन्दिरको नवनिर्मित सभाहल उद्घाटन ।।
भरतपुर ४ स्थित लक्ष्मीपुरमा रहेको श्रीराम मन्दिरको नवनिर्मित सभाहलको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । श्रीराम मन्दिर व्यवस्थापन समितिको ५ औं वार्षिक साधारणसभाको अवसरमा सो सभाहलको उद्घाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रतिनिधि सभा सदस्य एवम् कानुन तथा व्यवस्थापन समितिका सभापति कृष्णभक्त पोखरेलले सो सभाहलको उद्घाटन गर्नुभएको थियो । सभाहलको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् कानुन तथा व्यवस्थापन समितिका सभापति पोखरेलले मन्दिर व्यवस्थापन समितिलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
सो क्रममा पोखरेलले समितिको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्दिरको पूर्वाधार विकासका लागी आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सो कार्यक्रममा ३ नं. प्रदेश सभा सांसद गीता वाग्ले, पूर्व उपमेयर देवी ज्ञवाली, भरतपुर ४ का वडा अध्यक्ष हरि प्रसाद आचार्य, भरतपुर ५ का वडा अध्यक्ष पदमपाणि सुवेदी, श्रीराम मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णकान्त पोखरेल, श्रीराम मन्दिर व्यवस्थापन समितिका सल्लाहाकार मोहनमणि ढकाल लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनीहरु सबैले संस्थालाई अगाडि बढाउदै मन्दिरको विकास र प्रवद्र्धनका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मेघराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समितिका सचिव करुण कान्त पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद खरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।