स्थानीय तहका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा ।

चितवन , ०४ पौष । कर्मचारी समायोजन अध्यादेश २०७५ को विरुद्धमा स्थानीय तहका कर्मचारीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रमनुसार स्थानीय तहका कर्मचारीहरुले आज पनि चितवनका स्थानीय निकाय काम बन्द गरेर दुई घण्टासम्म धर्ना दिएका हुन् । स्थानीय निकायका कर्मचारी संघ इकाइ कमिटी अध्यक्ष सूर्यप्रकाश लामाले स्थानीय निकायमा समायोजन गरिएका कर्मचारी र स्थानीय निकायमा रहेका कर्मचारीबीच राज्यको व्यवहार फरकफरक रहेको भन्दै आन्दोलनमा उत्रनुपरेको बताए । आज १० बजेबाट १२ बजेसम्म भरतपुर महानगरपालिका परिसरमा दुई घण्टा धर्ना दिइएको बताए । उनले स्थानीय कर्मचारी संघ केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुलाई चितवनका कर्मचारीहरुले पनि एक्यबद्धता जनाएको बताए ।
महानगरपालिका परिसरमा भएको कर्मचारीहरुको धर्नामा सहभागी भरतपुर वडा नम्बर ९ का कर्मचारी बालकृष्ण थपलियाले राज्यको सम्मानजनक व्यवहार नभएकोले कर्मचारीहरु आन्दोलित हुनुपरेको बताए । उनले पुस १० गतेसम्म सांकेतिक विरोधका कार्यक्रम भएपनि १० गतेसम्म आफूहरुको मागलाई सम्बोधन नगरे आन्दोलनले नयाँ मोड लिने जानकारी दिए । चितवनका स्थानीय निकायमा झण्डै एक हजार ५०० जना कर्मचारीहरु रहेका छन् । कर्मचारीहरुले राखेका मागमा साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारणगरि समायोजन गर्नुपर्ने लगायत ४ बुँदे मागहरु राख्दै चार ओटा कर्मचारी संघ संगठनहरु आन्दोलित बनेका हुन् । नेपाल नगरपालिका कर्मचारी एशोसियसन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संघ स्थानीय तह र स्थानीय तह कर्मचारी युनियन नेपालले संयुक्त रुपमा स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति निर्माण गरी कर्मचारीहरुले आन्दोलन थालेका हुन् ।
साविक स्थानीय निकायका श्रेणी विहिन कर्मचारीको स्तरवृद्धि एवम् बढुवा गर्नुपर्ने, ५ वर्ष सेवा अवधि पूरा भएका सहायक पाँचौ तहलाई अधिकृत छैठौं तह, अधिकृत स्तर छैठौं तहलाई आठौं तह, अधिकृत स्तर सातौं तहलाइ नवौं तह, अधिकृत स्तर आठौं तहलाइ एघारौं तहमा बढुवा गर्नुपर्ने माग राखिएको छ । त्यस्तै जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीको सेवा निरन्तरताको ग्यारेन्टी र सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयन गर्नुपर्ने स्थानीय तह कर्मचारी संघ भरतपुर महानगरका अध्यक्ष सूर्यप्रकाश लामाले बताए ।