१२औँ चितवन महोत्सवको तयारी तीव्र


आनन्द पोखरेल
चितवन, ०४ पुष/आगामी पुष २५ देखि नारायणगढको नारायणी नदी किनारमा हुने १२औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार यस वर्षको चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनेछ । नेपाल सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिए अनुसार यस वर्षको चितवन महोत्सवले पर्यटकीय गतिविधिलाई बढाउने काम गर्ने प्रधानले बताए । प्रधानका अनुसार महोत्सव परिसरमा कृत्रिम चियाखाना, फनपार्क, ¥याफ्टिङ, राष्ट्रिय स्तरको पर्यटन सेमिनार, आईसिटी परिसर, पोल्ट्री परिसर, नेपाली उत्पादन परिसर रहनेछन् ।
कृत्रिम चिडियाखानामा चितवनमा रहेका गैंडा, हात्ती सहितका १० वटा जीवजन्तु तथा डाइनासोरलगायतका नेपालमा नपाइने १० प्रजातिहरुको जीवजन्तुहरुलाई राखिने प्रधानले बताए । यस वर्षको चितवन महोत्सवमा बालउद्यान समेत रहने उल्लेख गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले बाल उद्यानका लागि टेन्डर खुला गरिएको बताए । यस वर्षको चितवन महोत्सवमा पाँच सय भन्दा बढी स्टलहरु रहने उल्लेख गर्दै प्रधानले थारु, कुमाल, गुरुङ जातिको संस्कृति झल्किने खालका सांस्कृतिक घरहरु समेत राखिने बताए ।
चितवन महोत्सवको साजसज्जा अघिल्लो महोत्सवहरुमा भन्दा फरक तरिकाले गर्न लागिएकोले यो समेत आकर्षणको केन्द्र रहन सक्ने प्रधानको भनाइ छ । नारायणगढको नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदान हरेक दुई÷दुई वर्षमा आयोजना हुने महोत्सवमा यस वर्ष करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्नका लागि विभिन्न समितिहरुको कार्यगत बैठकलाई समेत भइरहेको प्रधानले बताए ।