चितवनको रामपुर–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुल जीर्ण बन्दै ।

प्रनिश थापा / चितवन, ०४ पौष । पश्चिम चितवनको रामपुर–चनौली–गोलाघाट सडकखण्डमा पर्ने अधिकांश साना पुलहरु जोखिममा परेका छन् । पुल जोखिममा हुँदा यो सडकखण्डमा चल्ने सवारीसाधन असुरक्षित हुने गरेका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासीनताका कारण यहाँका दर्जनौँ साना पुल जीर्ण बनेको हो । रामपुर–चनौली–गोलाघाट सडकखण्डअन्तर्गत पर्ने विभिन्न पुलको समयमै मर्मत र पुनर्निर्माण हुन नसक्दा केहीका रेलिङ भाँचिएका छन् भने अन्य पुलको अवस्था पनि नाजुक छ । भाँचिएका पुलको मर्मत र पुनर्निर्माणमा ढिलाइ हुँदा यात्रुहरु असुरक्षित यात्रा गर्न बाध्य छन् । यो सडकखण्डमा मात्रै करिब एक दर्जन पुल जीर्ण भइसकेका छन् भने मेघौली–गोलाघाटसम्मका थुप्रै नहर तथा घोलका पुलहरुको अवस्था पनि दयनीय छ । सडक फराकिलो र मर्मत भए पनि सडकमा रहेका पुल थोत्रा भइसक्दा पनि मर्मत गरिएको छैन । यिनको मर्मतका लागि सडक डिभिजनदेखि सडक निर्माण कम्पनीसमेत मौन रहँदै आएको स्थानीयवासीको गुनासो छ । पुलहरु जीर्ण रहेको अवस्थामा १८ टन भन्दा बढी भारका सवारीसाधन चल्न नहुनेमा यहाँ ४० टनसम्मका सवारीसाधन चल्दा जोखिमपूर्ण स्थानमा बनाइएका यस्ता पुल भाँचिने सम्भावना बढेको छ ।