चितवनमा सवारी दुर्घटनामा वृद्धि

पाँच महिनामै ७५ जनाले गुमाए ज्यान ।

चितवन, ३ पौष । पछिल्लो समय चितवन जिल्लामा सवारी दुर्घटनामा वृद्धि हुँदै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बितेको पाँच महिनामा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको जनाएको छ । गत, साउनदेखि मंसिर महिनासम्म १३५ सवारी दुर्घटना भएको थियो । जस्मा, साउन महिनामा २२ सवारी दुर्घटना भएकोमा २१ जनाले आफ्नु ज्यान गुमाए भने ८७ जना घाइते भए । यस्तै, भदौमा कूल ३१ दुर्घटनामा १५ जनाले ज्यान गुमाए भने ९१ जना घाइते भए । असोजमा ३२ दुर्घटनामा १३ जनाको मृत्यु भयो । ५३ जना घाइते भए । कात्तिक महिनामा २४ सवारी दुर्घटनामा ११ जनाको मृत्यु भयो । ५९ जना घाइते भएका थिए । मंसिर महिनामा २६ सवारीसाधन दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो भने ७४ जना घाइते भएका छन् । ट्राफिक प्रहरी प्रमुख वेदप्रसाद गौतमका अनुसार पाँच महिनामा ७४ जनाको मृत्यु भएको छ भने ३१७ जना घाइते भएका हुन् । सो अवधिमा सबैभन्दा बढी। मोटरसाइकल दुर्घटना भएका छन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनाबाट २८ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाबाट १७ जनाले ज्यान गुमाएका छन् । यस्तै, ट्रक र ट्यांकरबाट चार जना, जीप÷कारबाट तीन जनाको मृत्यु भएको ट्राफिक प्रमुख गौतमले जानकारी दिए । प्रहरी निरीक्षक गौतमका अनुसार पाँच महिनाको अवधिमा १७ पैदलयात्रुको मृत्यु भएको छ । जसमा मोटरसाइकलको ठक्करबाट ५ जना र अन्य सवारीसाधनको ठक्करबाट १२ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ५ जना साइकलयात्रीले समेत आफ्नु ज्यान गुमाएका छन् । जसमा मोटरसाइकलको ठक्करबाट ३ र अन्य सवारीसाधनको ठक्करबाट २ जनाले ज्यान गुमाएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

ट्राफिक कार्वाहीमा २२ लाख भन्दा बढी राजर्श्व संकलन ।
यसैबीच, चितवन ट्राफिक प्रहरी कार्यालयले गत मंसिर महिनामा ट्राफिक कारबाहीबाट मात्रै २२ लाख ५८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनाभर तीन हजार ५२ वटा सवारी साधनलाई गरेको कारबाहीबाट जरिवानास्वरुप उक्त राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गत, महिना ८६९ ट्रक, ४१५ बस, कार र जीप गरेर ९०२, टेक्टर २१६, मोटरसाइकल ४३० र टेम्पो २२१ वटा कारबाहीमा परेका थिए । त्यसैगरी, यस आर्थिक वर्षको पाँच महिनामा जिल्ला ट्राफिक कार्यालयले एक करोड २१ लख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । ५ महिनामा सबैभन्दा धेरै सवारी कारबाही र राजस्व संकलन असोज महिनामा भएको छ । गत, असोज महिनामा चितवनमा तीन हजार ६५० सवारीसाधन कारबाहीमा परेका थिए ।