निर्मला प्रकरण छानबिन प्रतिवेदनको निष्कर्ष :अनुसन्धानमा चरम लापरबाही

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो ।

प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ । सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ ।

धेरै प्रहरी आफ्नो दायित्वमा चुकेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । ‘कुन प्रहरीले अनुसन्धानमा कस्तो गल्ती गरेको थियो, प्रस्ट रूपमा प्रतिवेदनमा दिएका छौँ,’ समितिका एक अधिकारीले भने, ‘तर, अनुसन्धानमा भएको गल्ती नियोजित हो भन्न सक्ने आधार देखिएन ।’ ३१ भदौमा गठन भएको समितिले अध्ययन र विश्लेषणपछि विभिन्न सुझाबसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो ।

केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।