चितवनको खैरहनीमा आजदेखी प्रथम खैरहनी महोत्सव सुरु

मुख्यमन्त्री पौडेलले उद्वाटन गर्ने ।

चितवन , १६ मंसिर । पुर्वी चितवनको खैरहनीमा पहिलोपटक संचालन हुन गइरहेको प्रथम खैरहनी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुँक्त आयोजनामा आज आइतवारदेखी आउँदो मंसिर २४ गतेसम्म हुन लागेको उक्त महोत्सवको आज मध्यान्ह एक समारोहका बीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष एवंम् महोत्सव मुल समितीका संयोजक चन्द्र प्रसाद सापकोटाले जानकारी दिए । उद्घाटन हुनुअघि खैरहनी नगरपालिकाको परिसरदेखी विभिन्न जातजाती, संघसंस्थाको पहिचान झल्कने झाँकी सहितको शोभायात्रा वजार परिक्रम गरी महोत्सव स्थल खैरहनी २ स्थित लदरा खोला किनारमा पुग्नेछ । खैरहनी महोत्सवको आकर्षण,कृषि पर्यटन, उद्योग र संस्कृतीको प्रर्वद्धन भन्ने नाराका साथ हुने महोत्सवमा करिव २ सय साधारण तथा ३ वटा विषेश स्टल रहने छन् । खैरहनीको उत्पादनलाई प्रोत्साहन गर्न महोत्सवमा एउटा छुट्टै परिसर निर्माण गरिने छ । पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कंकालीकोटको परिसर महोत्सवस्थलमा रहने छ । जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पु¥याउने र कृषि, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जिल्लाको उद्योग व्यवसायको प्रवद्र्धन र लगानीको अवसर पहिचान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक सापकोटाले जानकारी दिए । त्यस्तै, कंकाली सामुदायिक वन झल्कने गरी महोत्सव परिसरमा डेमो राखिएको छ । जसमा ऐतिहासिक कंकालीमाईको मन्दिर, वन, सानो चिडियाखानाको समेत दर्शकले अवलोकन गर्न पाउने मेला व्यवस्थापन समितिका संयोजक रामेश्वर पोख्रेलले बताए । कंकाली वनसंगै विभिन्न जातजातिको सास्कृतिक घर समेत रहनेछन् । पहिलो पटक आयोजन गर्न लागिएको महोत्सवलाई आकर्षक वनाउने लोपोन्मुख राउटे जातिको प्रर्वद्धनका लागि संस्कृति र उनीहरुको शिप प्रर्दशनी गर्न लागिएको संघका महासचिव कुमार खनालले जानकारी दिए । खनालका अनुसार २५ जनाको टोलीलाई महोत्सवमा ल्याईने छ । त्यस्तै, महोत्सवको अर्को आर्कषणमा अन्र्तराष्ट्रियस्तरको कुस्ती प्रतियोगिता पनि हुनेछ । नेपाल र भारतका गरी करिव २० जना खेलाडीले प्रतियोगितामा सहभागीता जनाउनेछन् । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम समेत हुनेछन् । जसमा राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, रामणी खाँड, प्रकाश सपुत, मिलन लामा, टंक वुढाथोकी, अशोक दर्जी , रमेश राज भट्टराई, प्रमोद खरेल, भुमिका गिरी, शान्ती श्री परियार, दुर्गा सापकोटा, जादुगर वलराम सरकार लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक समिति संयोजक अर्जुन लम्सालले वताए । महोत्सवमा करिब २०० वटा व्यावसायिक र ३ वटा विशेष स्टलहरु रहने छन् । महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा गरिएको संघका महासचिव कुमार खनालले जानकारी दिए । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च लाग्ने र १० देखि १५ लाख रूपैयाँ बचत गर्ने योजना रहेको उनले जानकारी दिए ।