चार महिनापछि ११ कर्मचारी काममा फर्किए ।

 

 चितवन , ९ मंसिर । कामबिहीन अवस्थामा पुगेका महिला तथा बालबालिका कार्यालय चितवनका ११ कर्मचारीहरुले ४ महिनापछि शुक्रबारदेखी पुनः जिम्मेवारी पाएका छन् । सरकारले नै आफूहरुलाई कामविहीन बनाएको गुनासो गर्दै आएका उनीहरुले अहिले पुनः सरकार स्वयंमले नै ढिला गरी भएपनि काममा फर्काएपछि खुसीले गदगद भएका छन् । गत, असार अन्तिम सातामा कार्यालय नै खारेज भएपछि कार्यालय सहयोगीदेखि अधिकृतसम्म का कर्मचारीहरु कामविहीन अवस्थामा पुगेका थिए । यता, जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने केन्द्रबाट परिपत्र भएअनुसार महिला तथा बालबालिका कार्यालयका कर्मचारीले कार्यालयमा आई हाजिर गर्ने गरेकोमा हाल समस्या समाधान भएपछि आआफ्नो कार्यालयमा खटिएको बताउँछन् । उता, कामविहीन अवस्थामा पुगेकी महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख रहेकी शान्ता पौडेल भरतपुर महानगरपालिकामा आएकी छिन् । जिम्मेवारीविहीन भएपछि मन्त्रालयमै हाजिर गरेर बसेकी उनी केही दिनअघि मात्रै भरतपुर महानगरमा आएकी हुन् । कुन फाँटमा के जिम्मेवारी भन्ने बारे अझै पत्र प्राप्त नभइसकेकाले अन्योल नै रहेको पौडेलले बताइन् ।