अन्तत : झुक्यो रत्ननगर नगरपालिका !

 अस्वाभाविक रूपमा वृद्धि गरिएको कर समायोजन गर्ने ।

प्रनिश थापा, चितवन , ६ मंसिर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अस्वाभाविक रूपमा वृद्धि गरेको कर अन्ततः समायोजन गर्ने निर्णय गरेको छ ।राजनीतिक दलको विरोधपछि कर वृद्धिमा नगरपालिका पछि हटेको स्रोतले जनाएको छ । बिशेष गरेर प्रतिपक्षी दलमा रहेको नेपाली काँग्रेससहितका सात राजनीतिक दलले संघर्ष समिति नै बनाइ अस्वभाविक रूपमा गरिएको कर वृद्धिको विरोधमा आन्दोलन चर्काएपछि नगरपालिका आफ्नु निर्णयबाट पछि हटेको हो । नेपाली कांग्रेस रत्ननगरका नगरसभापति रुपनराज घिमिरेले गत, असार १० गते सम्पन्न तेस्रो नगरसभाले वृद्धि गरेको एकीकृत सम्पत्ति कर नगरपालिकाको कात्तिक २८ गतेको विशेष नगरपरिषद्बाट घटाएको जानकारी दिए । विशेष नगरसभाले एकीकृत सम्पत्ति करसहित विभिन्न शीर्षकमा कर समायोजन गरेको घिमिरेले बताए । तेस्रो नगरसभाले एकीकृत सम्पत्ति करमा १६ सय प्रतिशत सम्म कर वृद्धि गरेपछि नेपाली काँग्रेस, राप्रपा, नेकपा माले, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टीले गत साउन १४ गते संयुक्तरुपमा विरोधका कार्यक्रमहरु गरेका थिए । उनीहरुले करिव एक साता रिले अनशन समेत बसेका थिए । संघर्ष समितिका संयोजक समेत रहेका घिमिरेले असहमतिका ११ बुँदामध्ये करको दरमा भएको अस्वभाविक परिवर्तनलाई
नगरपालिकाले सम्बोधन गरेको र बाँकी बुँदाहरु पनि दलीय स्वार्थभन्दा माथि उठेर वैज्ञानिक र व्यावहारिक दृष्टिकोण राखेर अघि बढ्न आग्रह गरे । संघर्ष समितिले नगरभित्रका पुराना सवारीसाधनलाई लिलामी नगरी अलपत्र छाडेको, भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको सिद्धान्तलाई आत्मसात् नगरेको, शिक्षा नियमावलीको मर्म र भावनाविपरीत विद्यालयमा हस्तक्षेप गरेकोलगायतका माग राखेको थियो । नगरको करको दर र दायरालाई वैज्ञानिक बनाउन कर विज्ञहरुले प्राविधिक विषयमा अध्ययन गरी सुझाव दिएका थिए ।