विदेश भ्रमणमा कडाइ ! नजर सधै विदेश, लर्कोमा कर्मचारीसँगै जनप्रतिनिधि

भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि

newsabhiyan

काठमाडौं ।
सरकारले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरूको विदेश भ्रमणमा कडाइ गरेको भए पनि तीन महिनाको अवधिमा जनप्रतिनिधिको २३ वटा समूह विदेश उडेको पाइएको छ । सोही अवधिमा १ हजार २ सय बढी कर्मचारी विदेश भ्रमणमा गएका छन् ।

कर्मचारी र जनप्रतिनिधिले अवाञ्छित विदेश भ्रमण रोक्न सरकारले जारी गरेको निर्देशिका र कार्यविधिको उल्लंघन गरे पनि सरकारले त्यसलाई अंकुश लगाउन सकेको देखिँदैन ।
गत आर्थिक वर्ष २०७४÷७५ मा ५ हजार ११ जना कर्मचारी विदेश भ्रमणमा गएको देखिए पनि जनप्रतिनिधिहरूको रेकर्ड भने सरकारसँग छै्रन ।

कर्मचारीहरूको विदेश भ्रमण गर्ने क्रम अत्यधिक बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत साउनमा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो । कर्मचारी निर्देशिकासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि जनप्रतिनिधिहरूको भ्रमणलाई कडाइ गर्न स्थानीय पदाधिकारीको भ्रमणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो ।

अहिले पनि विभिन्न मन्त्रालयका दर्जनौं कर्मचारी र स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा नै मस्त रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने नियमविपरीत विदेश जानेहरूको सूची तयार पारिने र कारबाही प्रक्रिया थालिने चेतावनी दिए । ‘हामीले रेकर्ड मागिरहेका छौं, औचित्यबिना विदेश जाने र नियम उल्लंघन गर्नेहरू कारबाहीको दायरामा आउनेछन्,’ प्रवक्ता कुँवरले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश जनप्रतिनिधि महŒव नै नभएका गोष्ठी, सेमिनार र वर्कसपका लागि गएका छन् । केही भने विभिन्न नगरसँग सम्बन्ध राख्न भन्दै विदेश भ्रमणमा गएका छन् ।

भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि 

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए । यो सहित महर्जनको ११औं विदेश भ्रमण हो । उनी प्रमुखका रूपमा निर्वाचित भएको एक वर्षभित्रै ११ पटक विदेश भ्रमण गरेर कीर्तिमान कायम गरेका छन् ।

विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुसार जनप्रतिनिधिले विदेश जानुअघि मन्त्रिपरिषद्बाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ । तर, उनी स्वीकृति नलिई विदेश गएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, दोस्रो नम्बरमा काठमाडौंका प्रमुख विद्यासुन्दर शाक्य छन् । उनी एक वर्षमा ६ पटक विदेश भ्रमणमा गएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार उनी पछिल्लोपटक चीनको साताव्यापी भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्किएका छन् । यसअघि उनी अमेरिका गएका थिए । महानगर स्रोतका अनुसार शाक्य फेरि छिट्टै विदेश जाने तयारीमा छन् । शाक्यले पनि चीन जाँदा मन्त्रिपरिषद्बाट स्वीकृत नलिएको स्रोतले जानकारी दिएको छ ।

राजधानीबाट ।