रत्ननगर नगरपालिकामा एक सय ४६ घरधुरी अझै शौचालयबिहीन ।

चितवन , ४ मंसिर । सरकारले चितवन जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेपनि यहाँको रत्ननगर नगरपालिकामा भने सबैको घरमा अझैसम्म शौचालय पुग्न सकेको छैन । रत्ननगर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको झण्डै ५ बर्ष बित्यो, तर त्यो ब्याबहारिक रूपमा कार्यान्वयनमा भने अझै आउन सकेको छैनन् । यहाँको १ सय ४६ घरधुरी अझै शौचालयबिहीन रहेका छन् । घोषणाको बेला नगरभित्रका सबै घरघरमा शौचालय गराउने प्रतिबद्धता जनाए पनि घोषणा पछि अनुगमनको अभाव हुँदा शौचालयबिहीन घर हरु भेटिएका छन् । शौचालयबिहीन घरहरु नगरभित्र सुकुम्बासी बस्तीहरुमा रहेका छन् । विपन्न समुदायमा अझै ११३ घरधुरीमा व्यक्ति शौचालय छैन । नगरपालिका भित्र रहेका २१ वटा सुकम्बासी बस्तीहरुमा बसोबास गर्ने ब्यक्तीको पहुचमा शौचालय नहुँदा अझै पनि खुल्ला स्थानमा जाने गरेका छन् भने कोही सामुहिक शौचालय प्रयोग गर्ने गरेका छन् । जस्ले गर्दा नगरपालिकाको शितल टोल, दोभान टोल र सौराहा मालपुरमा रहेको बस्तीमा सामुहिक शौचालयको प्रयोगले गर्दा ति बस्तीहरु दुर्गन्धित बन्दै जान थालेका छन् । रत्ननगर–४ चौधरी मिलन टोलमा २७ घरधुरीमध्ये १८ घरधुरीको व्यक्तिगत शौचालय रहेको, २ जनाले छिमेकीको शौचालय प्रयोग गर्ने गरेको ७ घरधुरीले बाहिर नै शौच गर्ने गरेको फेला परेको छ । रत्ननगर–११ स्थित विश्वास टोलमा ७७ घरधुरीमध्ये १० घरधुरीले छिमेकीको प्रयोग गर्ने गरेको, १२ स्थित नवजागृति टोलको ४२ घरधुरीमध्ये ३६ घरको व्यक्तिगत, ५ घरले छिमेकीको र १ घरले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ । समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यहीं दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्न सक्छ तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका सार्वजनिकस्थलमा पर्याप्त शौचालय नभएकाले सर्वसाधारणले कष्ट व्यहोर्दै आएका छन् । जिल्लामा मानिसको भीडभाड हुने, नारायणगढ बजार, रत्ननगर र पर्सा बजारमा पर्याप्त सार्वजनिक शौचालय छैनन् । यात्रा गर्ने यात्रुका लागि नारायणगढ–मुग्लिन सडक, पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्गमा पनि सार्वजनिक शौचालय नभएकाले यात्रु खुला ठाउँको भर पर्न बाध्य छन् । यता, भरतपुर महानगरपालिकाका ईञ्जिनियर विराट घिमिरेले बाटो घाटो हिँड्डुल गर्नेलाई पर्याप्त सार्वजनिक शौचालय उपलब्ध गराउन नसकेको उल्लेख गर्छन् । भएका शौचालयको पनि व्यवस्थापन नहुँदा प्रयोगमा आएका छैनन् । ठूलो भीडभाड हुने ठाउँमा महानगरपालिकाले बनाएको मोबाइल शौचालय भएपनि छ महीनादेखि यो बिग्रिएर बसेको उनी जानकारी दिन्छन् ।