रामपुरमा जारी आन्दोलन नरोक्ने विद्यार्थी तथा प्राध्यापकहरुको चेतावनी ।

चितवन , ४ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सुरु भएको आन्दोलन नरोकिने आन्दोलनरत विद्यार्थी तथा प्राध्यापकहरुले चेतावनी दिएका छन् । निजी कलेजलाई दिएको अस्थायी सम्बन्धनको विरोधमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशील प्राध्यापक संगठन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले गरिरहेको निजीकरणविरूद्धको आन्दोलन नरोक्ने चेतावनी दिएका हुन् । पाचौं दिन पनि धर्ना कार्यक्रम जारी राखेका दुई संगठनले कृषि तथा वनविज्ञान विश्वविद्यालयले मन्त्रिपरिषद्ले समेत खारेज गरेको सम्बन्ध खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । सर्वोच्च अदालतको निर्णय नआउँदै सुरू गरेको भर्ना प्रक्रिया नरोकिएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने आन्दोलनरत विद्यार्थीले चेतावनी दिएका छन् । संविधानले नै मौलिक हकको रुपमा व्याख्या गरेको शिक्षा क्षेत्रमा मौलाउँदै गइरहेको व्यापारीकरणले आमजनताको शिक्षामाथिको पहुँचमा नियन्त्रण गर्न खोजिएको आरोप उनीहरुको छ । मेडिकल हुँदै कृषि शिक्षामा भित्रिरहेको यस्तो विकृतिको समूल अन्त्यको लागि सम्पूर्ण सरोकारवाला, शुभचिन्तकलगायत पत्रकारसँग सहयोगको अपेक्षा राखेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सर्वोच्च अदालतको आदेशलाई अन्तरिम आदेश भनी अपव्याख्या गरी आगामी पुस २६ गते अर्को पेशी रहेर अन्तिम फैसलासमेत आउने परिस्थिति बनेकोमा त्यो फैसलालाई प्रभावित पार्ने नियतले विश्वविद्यालयले निजी कलेजलाई समेत समेटेर भर्ना फाराम भर्न आह्वान गरेको विरोधमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीलगायत प्रायः सबै प्राध्यापकहरु आन्दोलनमा छन् । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरी, आन्दोलनरत पक्षलाई उक्साउने र आन्दोलनलाई दमन गर्न खोज्ने जस्ता गैह्रजिम्मेवार गतिविधिले विश्वविद्यालयमा प्रतिकूल परिस्थितिको सृजना भएको आन्दोलनकारीको दावी छ ।पत्रकारहरुको प्रश्नको जवाफ दिँदै नेपाल प्रगतिशील प्राध्यापक संगठनका कावा अध्यक्ष उदितप्रकाश सिग्देलले सरोकारवालाहरुसँग छलफल नगरी मापदण्ड नपुगेका निजी कलेजहरुलाई मनोमानी ढंगले दिएको सम्बन्धन मन्त्रिपरिषद्को निर्णयले खारेज गरेपश्चात् विश्वविद्यालयका पदाधिकारीको मिलेमतोमा निजी कलेजहरुले सर्वोच्चमा दायर गरेको बताए ।उनले मुद्दा हाल अग्राधिकार पाई विचाराधीन भएको हुँदा आगामी पौष २६ गते अर्को पेशी रही अन्तिम फैसलासमेत आउने परिस्थिति बनेको भन्दै सो फैसलालाई प्रभावित पार्ने गरी विश्वविद्यालयले निजी कलेजलाई समेत समेटेर भर्ना कमिटी गठन गरेको विरोधमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीलगायत प्रायः सबै प्राध्यापकहरु आन्दोलनमा उत्रनु परेको बताए । राष्ट्रिय प्राध्यापक संगठनका सचिव डा। शंकरराज बर्सिलले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरी आन्दोलनरत पक्षलाई उक्साउने र दमन गर्न खोज्नेजस्ता गैरजिम्मेवार गतिविधिले विश्वविद्यालयमा प्रतिकूल परिस्थितिको सृजना भएको बताए । उनले भनेका छन् स् “विश्वविद्यालयमा गलत निर्णयहरु गर्दै जाने, सरोकारवालाहरु लाई निषेध गर्ने, शान्तिपूर्ण आन्दोलनमा निर्मम र अमानवीय रुपमा प्रहरी प्रशासनको दुरुपयोग गर्ने, आन्दोलनरत पक्षले लगाएको तालाबन्दी तोड्ने, विज्ञप्तिहरु प्रहरी लगाएर च्यात्ने, आन्दोलनरत विद्यार्थीहरुलाई धरपकड गर्ने, लाठी चार्ज गर्ने र अनावश्यक रुपमा तारिखमा अल्झाउने क्रियाकलापको हामी घोर भत्र्सना गर्न चाहन्छौं ।”गएको असार २० गते देशका विभिन्न आठ वटा निजी कलेजका नाममा कृषि तथा वन विषयमा बाँडेको अस्थायी सम्बन्धन गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रद्द गरेको थियो । अहिले निजी कलेजहरुले विद्यार्थी भर्ना अभियान जारी राखेपछि प्राध्यापक तथा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।