भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि काम थाल्यो ।

चितवन , २९कार्तिक । भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश सुरु गरेको छ । गत पुसमा बसेको महानगरपालिकाको नगरसभाले गठन गरेको ११ महिनापछि न्यायिक समितीले स्थानीय जनताको मुद्दाहरु हेर्ने गरेको भएपनि महानगरमा ईजलाश निर्माण गरिएको थिएन । अदालती प्रकृयामा पुग्दा पीडितले न्याय पाउन ढिलाई हुने तथा पीडित र पीडकबीच मनमुटाब कायम हुने कारणले न्यायिक समितीबाट न्याय सम्पादन हुँदा कुनै पक्षको पनि जित हार नहुने गरी न्याय सम्पादन गरिन लागिएको महानगरले जनाएको छ । न्यायिक समितिमा परेको मुद्दामामिलालाई मेलमिलापमा जोड दिने तथा सर्वसाधारणलाई चाँडै न्याय दिने उद्देश्य सहित ईजलाशको निर्माण गरिएको नगर प्रमुख रेनु दाहालको भनाइ थियो । महानगरपालिकामा गठन भएको न्यायिक इजलाशको संयोजकमा उपप्रमुख तथा दुई जना सदस्य रहेका छन् । न्यायिक समिति गठन भएपछि हालसम्म एक सय ३० वटा मुद्दा परेकोमा सहमति हुन नसकेका २० वटा सम्बन्ध विच्छेदका मुद्दालाई जिल्ला अदालत पठाइएको न्यायिक समिति संयोजक पार्वती शाहले जानकारी दिइन् ।