चितवनका चार ठाउँ केरा जोन क्षेत्र निर्धारण ।

चितवन , २७ कार्तिक । चितवनको ४ ठाउँलाई केरा जोन क्षेत्र निर्धारण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले यहाँको भरतपुर महानगरपालिकास्थित एक नम्बर वर्डा , कालिका नगरपालिकाको एक नम्बर वर्डादेखी आठ नम्बरसम्मका वर्डाहरु, रत्ननगर नगरपालिकाका साथै, खैरहनी नगरपालिका लाई समेत केरा जोन क्षेत्र निर्धारण गरेको हो । चितवनमा हाल भइरहेको केरा खेतीको अवस्था, माटो तथा वातावरणीय अनुकूलता र आगामी दिनमा विस्तार गर्न सकिने क्षेत्रलाई आधार मानेर जोन क्षेत्र निर्धारण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई केरा जोन चितवनले जानकारी दिएको छ । कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार केरा बालीमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम (जोन) ले केराको व्यावसायीकरण, आधुनिकीकरण औद्योगिकीकरण तथा यान्त्रीकरण गर्ने उद्देश्यले चितवनमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । उन्नत प्रविधिको अवलम्बनमा जोड, यान्त्रीकरण, टिस्यू कल्चरबाट केराको उन्नत बिरुवा उत्पादन र वितरण, केराको पोष्टहर्भेष्ट प्रविधि मार्फत् गुणस्तर सुधार र बजारीकरणमा सहयोग गर्नका लागि परियोजना सञ्चालन ल्याइएको उनलेे जानाकारी दिए । यस परियोजनामा कार्य क्षेत्रभित्रका साना ठूला सबै किसानहरु आवद्ध हुन सक्नेछन् । आगामी वर्षदेखि प्रतिफलमा आधारित अनुदानका कार्यक्रम परियोजनाले सञ्चालन गर्ने परियोजनाका कृषि अधिकृत ढुंगानाले जानकारी दिए । चालु आर्थिक वर्षबाट सञ्चालन भएको केरा जोन परियोजना चितवनामा आगामी आठ वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाले बिरुवामा ५० प्रतिशत, यान्त्रीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ८५ प्रतिशत, पोष्ट पोष्टहर्भेष्टमा ८५ प्रतिशत अनुदान र प्राविधिकमा निःशुल्क सेवा दिने उनले बताए । चालु आर्थिक वर्षमा केरा किसानहरु सूचिकृत गर्ने र किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोगमा प्राथमिकता दिने केरा जोन कार्यालयले बताएको छ । केरा उत्पादनका लागि अन्य जिल्लामा भन्दा चितवनमा वातावरणीय अनुकुलता भएकाले नेपाल सरकारले केरा जोन कार्यक्रम ल्याएको हो ।