तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय

सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप,  गोली लागेर एकको मृत्यु


सर्लाही, कात्तिक १३(

तराईमा अस्थीरता फैलाउने तत्वहरु सक्रिय भईरहेको खुल्नमा आएको छ । सोही तत्वको सक्रियतामा सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपको फाईदा उठाउदैं गोली चलाईएको छ । अज्ञात ब्यक्तिले चलाएको बन्दुकबाट निस्केको गोलीले एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको छ ।
यसअघि हिजो सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष हुन् ।
विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक अधिकारीले बताए । अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

व्यापक प्रहरी परिचालन

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।
स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् ।