लायन्स क्लबको आयोजनामा कार्तिक ३० गतेदेखि पूर्वी क्षेत्र महोत्सव सञ्चालन हुँदै ।

चितवन , २३ असोज । पुर्वी चितवनको रत्ननगरमा लायन्स क्लबले पूर्वी क्षेत्र महोत्सव सञ्चालन गर्ने भएको छ । रत्ननगरको लायन्स क्लब अफ चितवन राइनो सिटीले आउँदो कात्तिक ३० गतेदेखि मंसिर ११ गतेसम्म महोत्सव गर्न लागेको हो । रत्ननगरको शान्ति चोक नजिक महोत्सव गर्न लागिएको यहाँ आयोजित दसैँ शुभकामना आदानप्रदान एवम् महोत्सव घोषणा कार्यक्रममा जानकारी दिइएको हो । महोत्सवको आयोजना गरी उठेको रकमले एउटा शव बाहन खरिद गर्ने, पूर्वी चितवनका पत्रकारहरुको संरक्षणको लागि पत्रकार संरक्षण कोष स्थापना गर्ने, असहाय बालबालिकाको लागि लायन्स असहाय बालबालिका संरक्षण कोषको स्थापना गर्ने लगायतको उद्देश्य राखेर महोत्सव गर्न लागिएको महोत्सवको संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सवमा ३०० स्टलहरु रहने र करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको संयोजक श्रेष्ठले बताए । महोत्सवमा प्रवेश गर्न ५० रुपैयाँको टिकट र विद्यार्थीको लागि ३० रुपैयाँको टिकट दर कायम गरिने भएको छ । महोत्सवकै अवसरमा लायन्स क्लब अफ रत्ननगर शान्तिचोकले फुड फेष्टिबलसमेत आयोजना गर्ने आयोजकले जनाएको छ ।