एआई (कृत्रिम गर्भाधान) इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन ।

 

चितवन , २२ असोज । पुर्वी चितवनको खैरहनी नगरपालिका ले एआई ९कृत्रिम गर्भाधान० इन्सिमेनेटर प्राविधिकलाई सेवा प्रभावकारी बनाउन निर्देशन दिएको छ । खैरहनी नगरपालिका पशु सेवा शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख लालमणी चौधरीले कृत्रिम गर्भाधान सेवा प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । “सानातिना लापर्वाहीले किसान पीडित हुन्छन्”, नगर प्रमुख चौधरीले भने, “पशुपालन गरेरै घर खर्च टार्ने भएकाले किसानले पाउने सेवा, सुविधा, सरल प्रभावकारी बनाउनुपर्छ ।” नगरपालिकाले प्रदान गर्ने सहयोग नगरभित्रकै किसानले मात्रै पाउने गरी काम गर्न नगर प्रमुख चौधरीले आग्रह गरे । असल जातको नश्ल सुधार गरे किसानको आयआर्जन हुने भएकाले पनि प्रभावकारी काम गर्न उनले सुझाव दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले नाइट्रोजन, रेफ्री, सिमेनलगायत सामान नगरपालिकाले उपलब्ध गराउने उल्लेख गर्दै किसानले सहजरुपमा प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा एआई इन्सिमेनेटर प्राविधिकहरुले पर्याप्त सिमेनको व्यवस्था गर्नुपर्ने, एआई तालिमको व्यवस्था गर्नुपर्ने, अस्वस्थ प्रतिस्पर्धालाई रोक्नुपर्नेलगायत माग राखेको पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नगरभित्र रहेका १२ जना एआई इन्सिमेनेटर प्राविधिकको सहभागिता रहेको थियो ।